नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले दिउँसो १ बजे नामावली सार्वजनिक गर्दै छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

