राजधानीको त्रिपुरेश्वरमा महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि विरोधस्वरूप आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ।
वीर अस्पतालमा जीवन बचाउन चिकित्सकहरूको २१ सदस्यीय विशेष टोलीले निरन्तर प्रयास गरे पनि आज बिहान ११ बजेर २० मिनेटमा उनको मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालले जानकारी दिएका छन्।
बिहीबार भएको उक्त घटनाले सामाजिक सञ्जालदेखि राजनीतिक तथा नागरिक वृत्तसम्म गम्भीर बहस सिर्जना गरेको छ। सामान्य प्रशासनिक कारबाहीप्रति असन्तुष्टि जनाउँदै गरिएको यस्तो आत्मदाह प्रयास अन्ततः एक युवाको ज्यान जाने दुःखद घटनामा परिणत भएको हो।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपाली विगत दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। आर्थिक रूपमा विपन्न परिवारका उनी केही महिनायता रोजगारीको सिलसिलामा राजधानीमा रहेका थिए।
यस घटनाले महानगरको कार्यशैली, नागरिकसँगको व्यवहार र सार्वजनिक सेवाप्रतिको संवेदनशीलताबारे गम्भीर प्रश्नसमेत उठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

