कञ्चनपुर/ सन्तोष धानुक /२३ भदौलाई जेन्जीसहित दिवसका रूपमा घोषणा गरिएको छ। आन्दोलनको रापतापबाट उठेका कतिपय व्यक्तित्व अहिले सत्ताको नेतृत्व तहसम्म पुगेका छन्। २३ भदौको नवयुवा आन्दोलनको मूल सरोकार भ्रष्टाचारविरुद्धको आक्रोश, सुशासनको चाहना र पुरानो राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो। त्यस आन्दोलनलाई जनस्तरबाट व्यापक समर्थनसमेत प्राप्त भएको थियो।
भ्रष्टाचार र कुशासनका कारण जनताको नजरबाट कमजोर बनेका पुराना राजनीतिक नेतृत्वलाई विस्थापित गर्ने चाहना आन्दोलनको एउटा प्रमुख भावनाका रूपमा देखियो। त्यसपछि राजनीतिक पुस्तान्तरणको बहस अघि बढ्यो र नयाँ राजनीतिक शक्तिहरूको उदय पनि भयो।तर २४ भदौको प्रदर्शनको स्वरूप भने फरक देखियो। त्यस दिनको प्रस्तुति, गतिविधि र शैली २३ भदौको आन्दोलनभन्दा बिल्कुलै अलग थियो।
संवैधानिक अंग राष्ट्रिय मानवअधिकार आयोगको १२ जेठ २०८३ मा बसेको बैठकको निर्णयमा घटनाको प्रकृति र अवस्था एउटै समयमा एउटै उद्देश्यसहित देशभरि देखिएको उल्लेख गर्दै ती घटनाहरू पूर्वयोजना तथा संगठित रूपमा गरिएको आपराधिक कार्य हुन सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
आयोगकै अध्ययनअनुसार त्यस दिन भएका आगजनी, तोडफोड र विध्वंस तत्कालको आवेग वा आकस्मिक प्रतिरोधका परिणाम मात्र थिएनन्। सामाजिक सञ्जालमार्फत घटनाभन्दा केही दिनअघिदेखि नै चेतावनीयुक्त सन्देशहरू सार्वजनिक गरिएको आयोगको अध्ययनमा उल्लेख छ।
‘Wake of Nepal’ जस्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका केही सन्देशमा आगामी विरोध प्रदर्शनमा जे पनि हुन सक्ने भन्दै मोलोटोभ ककटेल तथा पेट्रोल बम लिएर आउन आह्वान गरिएको उल्लेख गरिएको छ। त्यति मात्र होइन, कृत्रिम बौद्धिकता (AI) को प्रयोगबाट संसद् भवन जलाइएको दृश्यसमेत घटनाअघि नै सार्वजनिक गरिएको आयोगको अध्ययनमा उल्लेख छ।
यी सबै पक्षको छानबिन, अध्ययन र अनुसन्धानका आधारमा आयोगले सम्बन्धित व्यक्तिहरूमाथि कारबाही गर्न तथा थप अनुसन्धान अघि बढाउनसमेत सिफारिस गरेको थियो।
त्यसैले यहाँ गम्भीर प्रश्न उठ्छ—२४ भदौको घटना २३ भदौको नवयुवा आन्दोलनकै निरन्तरता थियो, वा त्यसको आवरणमा भएको पूर्वनियोजित विध्वंस?
आयोगको निष्कर्षलाई आधार मान्ने हो भने, त्यो केवल विद्रोह थिएन, विध्वंस थियो। नागरिकको आक्रोश मात्र थिएन, योजनाबद्ध आपराधिक गतिविधिको स्वरूपसमेत देखिन्थ्यो।
अब प्रश्न राजनीतिक आग्रह वा पूर्वाग्रहको होइन, आयोगले औंल्याएका तथ्य, प्रमाण र निष्कर्षमाथि निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्ने र कानुनअनुसार कारबाही गर्ने हो।

