कञ्चनपुर। सामाजिक सञ्जालमार्फत प्रहरीमाथि लागुऔषध तस्करीमा सेटिङ गरेको आरोप लगाएपछि पत्रकार पप्पु गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार घरबाटै नियन्त्रणमा लिएको हो ।
गुरुङले सामाजिक सञ्जालमा दोधारा चाँदनी क्षेत्रको सीमाबाट प्रहरीकै सेटिङमा भारतबाट ठूलो मात्रामा ब्राउन सुगर भित्रिरहेको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।
उनले लेखेको पहिलो स्टाटसमा भनिएको थियो, ‘डिएसपी/एसपी साब् !! दोधारा चाँदनीको सिमानाबाट मध्यरातमा ठूलो मात्रामा सेटिङमा ब्राउन सुगर भित्र्याउने काम बन्द गर्नुस् ।’
उनको सामाजिक सञ्जालमा देखिएको अर्को स्टाटसमा लेखिएको थियो, ‘डिएसपी/एसपी साब् !! दोधारा चाँदनीको सीमाबाट मध्यरातमा ठूलो मात्रामा सेटिङमा ब्राउन सुगर भित्रिरहेको छ । बन्द गर्नुस् ।’ हाल भने गुरुङले सामाजिक सञ्जालमा लेखेका दुवै स्टाटस हटाइसकेका छन् ।
प्रहरीका अनुसार, उक्त स्टाटस लेखेपछि गुरुङलाई कार्यालयमा उपस्थित हुन इलाका प्रहरी कार्यालय दोधारामार्फत सूचना पठाइएको थियो । तर, गुरुङ कार्यालयमा उपस्थित नभई प्रहरीले आफूलाई पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा अर्को स्टाटस राखेका थिए । जबकि, उक्त समयमा प्रहरीले उनलाई कार्यालयमा उपस्थित हुनका लागि सूचना मात्रै पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार, प्रहरीले लागुऔषध नियन्त्रणका लागि खेलेको भूमिकाविरुद्ध गुरुङले कुनै आधार र तथ्यबिना सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उपरीक्षक गिरीले भने, ‘गुरुङलाई साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा अघि बढाइनेछ ।’
गुरुङले दोधारा चाँदनी क्षेत्रमा सामाजिक सञ्जालमार्फत विभिन्न आरोप–प्रत्यारोप लगाउँदै आएको समेत आरोप लाग्दै आएको छ ।


