कञ्चनपुर ।सन्तोष धानुक /कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि असोज ९ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ। बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर परिसरमा जात्राको तयारी भइरहेको छ।
प्रत्येक वर्ष काठमाडौंमा मनाइने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहँदै आएको छ। विशेषगरी बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय हाल बेदकोट–४ बैतडामा समेत बसोबास गर्दै आएका छन्। उनीहरूले आफ्नो पुर्ख्यौली सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै बैतडामा पनि सोही दिन टाका जात्रा मनाउँदै आएका हुन्।
पुर्चौडीमा मनाइने परम्पराअनुसार नै बैतडामा पनि टाका जात्राका अवसरमा श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना तथा सामूहिक कार्यक्रम आयोजना गरिन्छ।
जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिनेछ। स्थानीय कलाकार तथा समुदायले दमाहा, देउडा, ठाडी भाका लगायतका लोकगीत तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। युवादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता रहने जात्रा सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा पुर्ख्यौली परम्पराको निरन्तरताका लागि महत्वपूर्ण मानिँदै आएको छ।
जात्रालाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन आयोजकले विशेष आग्रहसमेत गरेको छ। जात्राका क्रममा भाँडभैलो गर्ने, शान्ति–सुरक्षामा असर पर्ने गतिविधि गर्ने तथा मादक पदार्थ सेवन गर्ने वा गराउने व्यक्तिमाथि कडा कारबाही गरिने आयोजक प्रेम धानुकले जानकारी दिएका छन्।
जात्रामा सहभागी सबैलाई अनुशासित र मर्यादित रूपमा सांस्कृतिक कार्यक्रमको आनन्द लिन आग्रह गर्दै आयोजक धानुकले जात्राको मौलिकता र सामाजिक सद्भाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।


