जेनजी आन्दोलनमा बालबालिका प्रयोग गरिएकोप्रति मेरो आपत्ति थियो । समाजशास्त्र विषयमा डिग्री हासिल गरेको हुनाले यस विषयमा मैले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत आफ्नो विचार पोखेकी थिएँ । त्यसपछि ममाथि साइबर आक्रमण शुरु भयो । सुन्नै–देख्नै नसक्ने खालका गालीगलौज आउन थाले ।
‘ग्याङ रेप गर्दिन्छु’, ‘मार्दिन्छु’, ‘तेरो परिवारलाई सखाप पार्दिन्छु’ जस्ता म्यासेज त दिनहुँ कति हो कति आउने । जति डिलिट ग¥यो, त्यति नै बढ्ने । मेरो मोबाइलमा त्यस्ता म्यासेज देखेपछि छोराको मानसिकतामा समेत असर प¥यो । सोही समय परिवारमा अमेरिका घुम्न आउने कुरा चलिरहेको थियो ।
मलाई शिक्षण पेशा छोडेर जान मन थिएन । तर, लगातार आइरहेका धम्कीपूर्ण म्यासेजपछि परिवारको सुरक्षाका लागि भए पनि अमेरिका जाने निर्णय गरेँ । यता आएपछि त्यस्ता म्यासेज कम हुन्छन् भन्नेमा ढुक्क थिएँ । त्यसैले, अवस्था केही साम्य भएपछि नेपाल फर्किने हाम्रो सोच थियो । तर, ममाथि साइबर आक्रमण झन् बढ्न थाल्यो ।
आरजु राणा देउवासँग जोडेर प्रहार गर्न थालियो, जबकि मैले आजसम्म उहाँलाई भेटेको छैन । सिर्जना सिंह र म दिदीबहिनीजस्तै हौँ । २०७९ को स्थानीय तह निर्वाचनमा उहाँ कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दा समर्थन गरेकी थिएँ । उहाँसँग खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पारेर ममाथि अनेकौँ लाञ्छना लगाइयो ।
‘कांग्रेसले पालेको’ सम्म भनियो । ती सबैलाई चुनौती दिन चाहन्छु—म आजसम्म कुनै राजनीतिक दलमा आबद्ध भएको प्रमाण देखाऊ । मैले कुनै पनि दलबाट एक सुको लिएको प्रमाण देखाए जुनसुकै सजाय भोग्न तयार छु ।
तर, फरक विचार राखेकै कारण बारम्बार यस्ता धम्की दिइरहनुले समाज कता गइरहेको छ भन्नेमा चिन्तित छु । समाजमा चेलीलाई गरिने आदर–सत्कार त परको कुरा हो, मानवीयता नै हराउन थालेको महसुस गरेकी छु ।
सरकारको आलोचना गर्नेबित्तिकै ‘झोले’, ‘काम गर्न दिएनौ’, ‘किन विरोध गरेको ?’ भन्दै अश्लील र धम्कीपूर्ण म्यासेज आउन थालिहाल्छन् । पढेलेखेका व्यक्तिहरू नै धम्कीपूर्ण म्यासेज पठाउँछन् । अनि नागरिक भएको हैसियत मैले सरकारबारे केही बोल्नै नपाउने ?
सरकार हामी सबैको साझा हो । सरकारको काम–कारबाहीबारे बोल्न पाउने अधिकार सबैलाई छ । हामी नागरिकले नबोले अरू कसले बोल्छ ? सरकारलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउने काम हाम्रै हो । किनकि सरकार मजस्ता नागरिकले तिरेकै करबाट चलिरहेको छ ।
हामी सर्वसाधारणकै मतदानबाट बनेको हो , त्यसैले सरकारको खबरदारी गर्न, प्रश्न गर्न, आलोचना गर्न र विरोध गर्न पाउने अधिकार मजस्ता हरेक नेपाली नागरिकलाई छ , अनि आफ्नै सरकारको काम–कारबाहीबारे बोल्दा भइरहेको साइबर आक्रमणले चिन्तित र त्रसित छु ।
समाज यतिसम्म गिरिसकेको छ कि पीडामा रहेका व्यक्तिलाई समेत धम्क्याइन्छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा हराएका आफ्ना श्रीमानको खोजी गरिदिन सामाजिक सञ्जालमार्फत सरकारसँग अपिल गर्दा एक महिला साइबर निशानामा परिन् ।
‘सरकारको किन विरोध गरिस् ?’ भन्दै बलात्कारसम्मको धम्की कमेन्टमा देखिन्छन् ।, आफ्नै देशका आफ्नै मान्छेबाट डराउनुपर्ने अवस्था बन्यो । मेरो सबथोक नेपालमा छ । म त्रिचन्द्र क्याम्पसमा पढाउँथेँ । केवल घुम्न अमेरिका आएको म र मेरो परिवार अहिले भिसा एक्सटेन्ड गरेर बस्नुपरेको छ ।
मातृभूमि फर्केर आउन निकै मन छ तर नेपालको अवस्था देखेर मनले मान्दैन । डर लाग्छ । कहिलेकाहीँ त आफ्नै देश फर्केर जान नसक्ने हो कि जस्तो पनि लाग्छ । दिनमै सयौँ धम्कीपूर्ण म्यासेज आउँछन् । त्यसविरुद्ध म त लड्न सकुँला । परिवारका लागि डर लागिहाल्छ । अर्कोतर्फ, कतिञ्जेल र के–केसम्म लड्ने ?
साक्षरता दर बढ्यो, मुलुकमा पढेलेखेका मानिस छन् जस्तो मलाई लाग्थ्यो । तर, अहिले आफूले यसरी भाग्नुपर्दा शिक्षा क्षेत्रमा राज्यले यत्रो वर्षदेखि गरेको लगानी बालुवामा पानी भएकोजस्तो लाग्छ । नभए शिक्षित व्यक्तिहरूसँग फरक विचार राख्न पाउनुपर्ने सामान्य ज्ञान त हुनुपर्ने हो , तर अहिलेको पुस्तामा त्यतिसमेत देखिएन ।
यदि सरकारविरुद्ध बोल्नै नपाइने हो भने लोकतन्त्र र गणतन्त्रको के अर्थ ? राजतन्त्रलाई किन निरंकुश भनेर फ्यालियो ? म सरकारलाई सोध्न चाहन्छु–अब हामीजस्ता नागरिकले सामाजिक सञ्जाल चलाउनै छोड्नुपर्ने हो ? सरकारलाई प्रश्न गर्नै नहुने हो ? रास्वपाको पक्षमा भोट नहाल्नेहरू नेपाली नागरिक नै होइनन् हो ?


