रसुवा । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चिलिमे हाइड्रोपावरको सुरुङमा फसेका ६ जना जीवित रहेको सम्भावनाका आधारमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक वकिल धानुकको नेतृत्वमा उद्धार टोली जोखिमपूर्ण सुरुङभित्र २४ सै घण्टा खटिएको छ। आफ्नै ज्यानको समेत पर्वाह नगरी धानुकसहितको टोली नागरिकको जीवन रक्षाका लागि निरन्तर उद्धारमा जुटिरहेको छ।
उद्धार तथा खोजी कार्यमा माननीय सागर ढकाल र श्रीराम न्यौपानेसहितको विज्ञ टोलीसमेत खटिएको जनाइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सेनासहितको संयुक्त टोलीले पनि सुरुङभित्र निरन्तर खोज तथा उद्धार गरिरहेको छ।
सुरुङभित्र विद्युत् प्राधिकरणका एक जना र हाइड्रोपावरका पाँच जना गरी ६ जना जीवित रहेको सम्भावना रहेको बताइएको छ। उनीहरूलाई सकुशल उद्धार गर्ने उद्देश्यले उद्धार टोलीले सुरुङभित्र जोखिमपूर्ण अवस्थामा समेत खोजीलाई निरन्तरता दिएको छ।
हालसम्म सुरुङको करिब १५० देखि १६० मिटर भाग जलमग्न रहेको जनाइएको छ। जलमग्न क्षेत्रमा पानीको सतह घटाउन पम्पमार्फत निरन्तर पानी बाहिर निकाल्ने काम भइरहेको छ।
पानीको सतह घटाउँदै सुरुङभित्र थप गहिराइसम्म पुग्ने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। उद्धार टोलीले २४ सै घण्टा पालैपालो काम गर्दै सुरुङभित्रको अवस्था अनुगमन तथा खोजी गरिरहेको जनाइएको छ।
नागरिकको जीवन रक्षाका लागि उच्च जोखिम मोलेर उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक वकिल धानुकको नेतृत्वमा रहेको टोली, माननीय सागर ढकाल र श्रीराम न्यौपानेसहितको विज्ञ टोली, नेपाली सेना, भारतीय सेना तथा अन्य उद्धारकर्मीको संयुक्त प्रयास जारी रहेको छ।



