सन्तोष धानुक : नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर क्षेत्र नं. २ बाट माधव पन्त लाई उम्मेदवारका रूपमा अघि सारेको छ। लामो समयदेखि विद्यार्थी तथा पार्टी राजनीतिमा सक्रिय पन्त औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।

पन्त त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधी (PhD) अध्ययनरत छन्। उहाँले अङ्ग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा LLB उपाधि हासिल गरिसक्नुभएको छ। शैक्षिक पृष्ठभूमिका कारण पन्तलाई बौद्धिक र नीतिगत रूपमा सक्षम नेताका रूपमा हेरिँदै आएको छ।

वि.सं. २०५९ सालदेखि करिब २४ वर्ष राजनीतिमा सक्रिय पन्तले विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए। यस अवधिमा उहाँले जनताका स–साना समस्या देखि सामाजिक तथा राजनीतिक विषयमा निरन्तर सहयोग र सक्रियता देखाउँदै आएको स्थानीय बताउँछन्।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका पन्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिका गेस्ट लेक्चरर पनि हुन्। उहाँ अन्तर्राष्ट्रिय राजनीतिका जानकारका रूपमा परिचित छन्।
शुक्लाफाँटा नगरपालिका–५ निवासी पन्त जनआन्दोलन २०६२/६३ का क्रममा घाइते भएका थिए। त्यसपछि पनि उहाँले आफ्नो राजनीतिक विचार र आस्थालाई निरन्तरता दिँदै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। राजनीतिक यात्राकै क्रममा उहाँले भारत, चीन, ब्राजिल, अमेरिका, कोलम्बिया, युएई र दक्षिण अफ्रिका लगायत विभिन्न देशको भ्रमण गरी त्यहाँको विकास मोडालिटी र शासन अभ्यासको अनुभव हासिल गरेका छन्।
पन्तले औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि तथा कृषिको आधुनिकीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन्। पार्टीका अनुसार कञ्चनपुर क्षेत्र नं. २ मा युवा, अध्ययनशील र नीतिगत नेतृत्वको आवश्यकता रहेको भन्दै पन्तलाई उम्मेदवार बनाइएको हो।
