
बझाङ : जिल्लाको वित्थडचिर गाउँपालिकामा रहेको एक पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। गाउँपालिकाको माथिल्लो वित्थडस्थित चिल्ड्रेन पार्कभित्रको पोखरीमा नुहाउने क्रममा उक्त घटना भएको हो।
प्रारम्भिक जानकारीअनुसार करिब ८ वर्ष उमेरका ती बालकहरू साथीहरूसँग खेल्ने क्रममा पोखरीमा पुगेका थिए। नुहाउने क्रममा डुबेका उनीहरूलाई समयमै उद्धार गर्न नसकिँदा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभएको छ।
घटनापछि स्थानीयवासीहरू घटनास्थलमा भेला भएका थिए। जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनाबारे आवश्यक अनुसन्धान थालेको छ। मृतक बालकहरूको पहिचान खुल्ने प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिनुभएको छ।
यसैबीच, स्थानीय तह तथा सरोकारवाला निकायले खुला पोखरी, नदी तथा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन्।
