विरेन्द्र बाग: २६ पौष ,२०७९ सालको प्रतिनिधिसभा निर्वाचन बझाङका लागि सामान्य चुनाव थिएन । त्यो निर्वाचनले जिल्लाको राजनीतिक नाडी कति संवेदनशील छ भन्ने कुरा ९९८ मतको झिनो अन्तरले प्रस्ट पारेको थियो । सात जना उम्मेदवार चुनावी मैदानमा रहे पनि वास्तविक द्वन्द्व पूर्वमन्त्री तथा तत्कालीन एकीकृत समाजवादीका नेता भानुभक्त जोशी र एमालेका युवा नेता ऐन महरबीच सीमित रह्यो । मतगणनाको प्रत्येक अपडेटले बझाङको राजनीति थामिनसक्नु गरी तातेको थियो। बराबरीदेखि एक–दुई मतको अन्तर हुँदै अन्तिम क्षणमा मात्र नतिजा तय भयो ।
जोशीले २८ हजार १४३ मतसहित विजय हात पारे, महर २७ हजार १४५ मतमा रोकिए । तर यो जित–हारभन्दा ठूलो सन्देश थियो बझाङ अब सुरक्षित किल्ला होइन, अत्यन्त प्रतिस्पर्धात्मक रणभूमि हो । एक लाख २२ हजारभन्दा बढी मतदाता भएको जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खस्नु राजनीतिक दलहरूका लागि चेतावनीको घण्टी थियो । आधाभन्दा बढी मतदाता मौन रहनु भनेको जनविश्वास कमजोर हुनु हो, र त्यो विश्वास जित्न नसक्ने नेतृत्वको भविष्य सुरक्षित हुँदैन ।
अबको निर्वाचनमा प्रश्न उम्मेदवार को हुने होइन, प्रश्न बझाङले कस्तो नेतृत्व खोज्दैछ भन्ने हो । एमाले संगठन, अनुशासन र युवा नेतृत्वको सन्देशसहित मैदानमा आउँदैछ । नेपाली कांग्रेस परम्परागत प्रभाव र सत्ता–अनुभवको आधारमा टिक्न खोज्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो राजनीतिक संस्कृतिप्रति असन्तुष्ट मतदातालाई वैकल्पिक आशा देखाउँदै अघि बढिरहेको छ । वामपन्थी दलहरू र राप्रपाले पनि आफ्नो–आफ्नो राजनीतिक पहिचानसहित बझाङलाई बहुकोणीय प्रतिस्पर्धामा धकेलिरहेका छन् ।
यसपटकको चुनाव भाषणको होइन, हिसाब–किताबको चुनाव हुनेछ । सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र दुर्गम बस्तीको पहुँच यी मुद्दामा जसले ठोस योजना र इमानदार कार्यान्वयनको विश्वास दिलाउन सक्छ, ऊ नै विजयी बन्नेछ । बझाङका मतदाता अब ‘नेता को हो ?’ भन्दा ‘के गर्छ ?’ भन्ने प्रश्नमा केन्द्रित हुँदैछन् ।
अबको निर्वाचन बझाङका लागि केवल प्रतिनिधि छनोट होइन, विकासको दिशानिर्देश तय गर्ने जनमत संग्रह हो । ९९८ मतले इतिहास बनेको यो जिल्लामा अब एक मतले पनि भविष्य बदल्न सक्छ । जसले जनताको भरोसा जित्छ, उसैले बझाङको राजनीति मात्र होइन, विकासको गति पनि तय गर्नेछ ।
काठमाण्डौ ।
