भूपराज जोशी :कंचनपुर,साउन, १८ मानव सम्बन्ध र सञ्चारको सन्दर्भमा ‘React’ र ‘Respond’ को फरक बुझ्नु केवल व्यवहारिक शिष्टता मात्र होइन, जीवनका तनाव र द्वन्द्व समाधान गर्ने सूत्र हो। SHIELD विधिले सुझाएको सोच–विचारपूर्वक प्रतिक्रिया दिने अभ्यासले हामीलाई आत्मसचेत, परिपक्व र भावनात्मक रूपले सुरक्षित बनाउँछ। कुनैपनि व्यवहार वा टिप्पणीले हाम्रो आत्मसम्मानमा चोट पुर्याउने सम्भावना हुन्छ, तर यदि हामीले त्यसलाई व्यक्तिगत रूपमा नलिई तटस्थ र विवेकपूर्ण ढंगले बुझ्न सक्यौं भने धेरै असमझदारीहरू आफैं सेलाएर जान्छन्। यसले सम्बन्ध सुधार्ने मात्र होइन, व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सकारात्मक असर पार्दछ।
हामी किन कुनै कुरालाई व्यक्तिगत रूपमा लिन्छौं भन्ने प्रश्नको उत्तर गहिरो छ। सामाजिक संरचना, विगतका अनुभव, हाम्रो आत्मछवि, र अन्यबाट पाउने स्वीकृति–अपेक्षाहरू यसका मूल कारण हुन्। हामीलाई लाग्छ कि अरूको आलोचना, व्यङ्ग्य वा असन्तुष्टि सीधै हाम्रो अस्तित्वमाथि लक्षित छ। यही सोचले हामीलाई अत्यधिक संवेदनशील बनाउँछ, जसको परिणामस्वरूप हामी अनियन्त्रित प्रतिक्रिया जनाउँछौं। यस्ता प्रतिक्रिया न केवल सम्बन्धमा दरार ल्याउँछ, तर पछुतो र मानसिक असन्तुलनको कारण पनि बन्छ। यसैले SHIELD विधिको अभ्यासले भावनात्मक बुद्धिमत्ता र आत्मनियन्त्रणमा आधारित व्यवहार विकास गर्न सकिन्छ।
SHIELD विधिको पहिलो चरण ‘Separate’ हो, जसले हाम्रो पहिचानलाई अरूको व्यवहारबाट अलग गर्न सिकाउँछ। कसैले गाली गर्यो वा गलत टिप्पणी गर्यो भने हामी स्वतः दोषी वा पीडित महसुस गर्छौं। तर वास्तवमा त्यो टिप्पणी गर्ने व्यक्ति स्वयंका पीडा, मनस्थिति वा असन्तुष्टिको प्रतिनिधित्व गर्न सक्छ। त्यसलाई अलग दृष्टिबाट हेर्न सकेमा हामी प्रतिक्रिया होइन, उत्तरदायी बन्न सक्छौं। यसैले आत्म–सुरक्षाका लागि आफ्नो ‘म’ लाई स्थिर राख्दै भावनात्मक विभाजन गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। त्यसपछि मात्रै हामीले तटस्थता र समता हासिल गर्न सक्छौं। त्यस्तै अर्को महत्त्वपूर्ण चरण हो ‘Hear’, अर्थात् सुन्ने कला। हाम्रो समाजमा धेरैजसो समस्या ‘सुनिएको कुरा’ भन्दा ‘बुझिएको अर्थ’ बाट उत्पन्न हुन्छ। हामीले सुन्ने बेलामा पहिले नै भावनात्मक संरक्षणको कवच लगाइसकेका हुन्छौं। जसका कारण आलोचना वा सल्लाहलाई पनि आक्रमणको रूपमा लिन्छौं। SHIELD विधिले यसै अवस्थामा संयमित भएर बिना पूर्वाग्रह सुन्ने सुझाव दिन्छ। आलोचना वा टिप्पणी सुनेपछि तत्काल बचाउ गर्ने वा प्रतिउत्तर दिने होइन, त्यसको आशय बुझ्ने प्रयास गर्नु नै बुद्धिमानी हो। जब हामी शान्त मनले सुन्छौं, तब मात्र हामीले सुसंगत उत्तर दिन सक्छौं, जुन प्रतिक्रिया भन्दा गुणस्तरीय र स्थायी हुन्छ।
SHIELD विधिको तेस्रो चरण “Interpret” हो, जसले व्यवहार वा शब्दको पछाडिको वास्तविक आशय बुझ्न प्रेरित गर्छ। जब कसैले कठोर बोली बोल्छ, त्यसको कारण प्रायः उनीहरूको आन्तरिक तनाव, असुरक्षा वा विगतको पीडा हुन्छ। तर हामी त्यसलाई आफ्नो आत्मसम्मानमाथिको हमला ठान्न थाल्छौं। यहाँ व्यक्तिको शब्दभन्दा पनि मनोविज्ञान बुझ्ने अभ्यासमुख्य कुरा हो। यस्तो बुझाइले हामीलाई नकारात्मक ऊर्जा ग्रहण नगरी शान्त रहन सहयोग गर्छ। जसरी कुनै रोगीले छटपटीमा अरूलाई दोष दिन सक्छ, त्यस्तै मानसिक रूपमा असन्तुलित व्यक्ति पनि अरूलाई आक्रमण गर्न सक्छ। तर त्यो आक्रमण नभई उनको आन्तरिक वेदनाको अभिव्यक्ति हुन सक्छ भन्ने बुझ्न सक्ने क्षमता नै SHIELD को उद्देश्य हो।
चौथो चरण “Evaluate” ले भने हाम्रो आत्मसमीक्षा क्षमतालाई उजागर गर्छ। यसले हामीलाई झनै गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ—“के यो कुरा वास्तवमै मप्रति हो?” अथवा “के यो व्यक्ति आफ्नै संघर्षमा अल्झिएको हो?” जब हामी प्रत्येक आलोचना वा व्यवहारलाई आत्ममूल्याङ्कनको सन्दर्भमा हेर्छौं, हामी भावनात्मक प्रतिक्रिया दिने सट्टा आत्मचिन्तन गर्न थाल्छौं। त्यसले ‘पीडित’ भावनाबाट उन्मुक्त भएर परिपक्वताको दिशामा अघि बढ्न सघाउँछ। आलोचनालाई तर्कको दृष्टिले विश्लेषण गर्दा मात्र हामी साँचो अर्थमा उत्तरदायी बन्न सक्छौं। नत्र, प्रतिक्रियात्मक व्यवहारले परिस्थिति झन जटिल बनाउँछ।
“Let Go” भन्ने चरणमा आइपुग्दा हामीले आत्म–मुक्तिको अभ्यास गर्नुपर्छ। हाम्रो समाजमा ‘अरूको नजरमा राम्रो देखिनुपर्छ’ भन्ने प्रवृत्ति अत्यधिक छ। हामी बारम्बार अनुमोदन खोज्छौं, जसले आत्मनिर्भरता कमजोर बनाउँछ। SHIELD ले स्वीकृति माग्ने यो आदत त्याग्नुपर्छ भन्ने जोड दिन्छ । “मलाई सबैले मन पराउनुपर्छ” भन्ने सोचले हामीलाई आन्तरिक तनावमा राख्छ। जब हामी यो मोहबाट मुक्त हुन्छौं, तब मात्र हामी स्वतन्त्र अर्थात् बाहिरी रायले होइन, आफ्नै मूल्य–मान्यताले चल्ने आत्मनिर्भर व्यक्ति बन्न सक्छौं। ‘Let Go’ भन्नुको अर्थ न त सम्हाल्ने मोह, न त बदल्ने चाहना, केवल आफ्नो शान्तिको लागि मुक्त हुन सक्ने साहस हो ।
SHIELD विधिको अन्तिम चरण “Decide” हो, जुन उत्तरदायी व्यक्तित्वको महत्वपूर्ण पक्ष हो। जब हामी ‘के प्रतिक्रिया दिने?’ भन्ने सोचबाट ‘कसरी बुद्धिमत्तापूर्वक उत्तर दिने?’ भन्ने अवस्थामा पुग्छौं, तब हाम्रो व्यवहारमा गहिराइ, विवेक र संवेदनशीलता देखिन्छ। प्रतिक्रियात्मक व्यवहार अकस्मात् हुन्छ, जबकि उत्तरदायी व्यवहार सचेत र उद्देश्यपूर्ण हुन्छ। ‘Decide’ गर्नु भनेको भावनात्मक असरमा निर्णय नगरी, आत्म–नियन्त्रणको प्रयोग गर्नु हो। यो अभ्यास केवल तात्कालिक समाधान होइन, दीर्घकालीन सम्बन्ध निर्माण र मानसिक स्वास्थ्यको रक्षा गर्ने विधि हो। SHIELD को यही अन्तिम चरणले हामी आफ्नो व्यवहारका मालिक हौं, अरूको होइन भन्ने कुरा स्पष्ट पार्छ। निर्णय गर्ने क्षमतामा हामीले विवेक र संवेदनशीलताको सन्तुलन राख्नुपर्छ।
यी सिद्धान्तहरू व्यवहारमा उतार्न सहज छैनन्, विशेष गरी जब हामी तनाव, आलोचना वा असन्तोषको स्थितिमा हुन्छौं। तर SHIELD विधिसँगै दिईएका व्यवहारिक अभ्यासहरू जस्तै ‘Stay Calm’ र ‘Let Go’ ले हामीलाई दैनिक जीवनमा यिनलाई कार्यान्वयन गर्न सहज बनाउँछ। “Separate Emotion from Fact” भन्ने अभ्यास विशेष गरी उपयोगी छ, किनभने हामी प्रायः सुनेको कुरा भन्दा त्यसबाट उत्पन्न भएको भावनामा अडिन्छौं। तर यदि हामीले त्यस्ता भनाइको भावनात्मक असरलाई अलग गरेर तटस्थ रूपमा व्याख्या गर्न सक्यौं भने, गलत बुझाइ र अनावश्यक तनावबाट बच्न सकिन्छ। यो अभ्यासले हामीलाई तर्कशील बनाउँछ र क्षणिक आवेगमा आएका निर्णयहरूबाट जोगाउँछ।
यदि SHIELD विधिका अभ्यासहरू अपनाउँदा पनि मनमा चोट लाग्ने वा चित्त दुख्ने अवस्था आइपर्छ भने, त्यसबेला थप व्यवहारिक उपायहरू आवश्यक पर्छन्। त्यसैको लागि “Ask for Clarity” अभ्यास विशेष उपयोगी हुन्छ। हामी प्रायः अनुमानमा भर परेर प्रतिक्रिया दिने बानीमा हुर्किएका हुन्छौं—जुन हाम्रो सामाजिक सञ्चारमा द्वन्द्वको प्रमुख कारण हो। कसैले के भन्न खोज्यो भन्ने स्पष्ट नभएमा शान्तिपूर्वक सोध्ने र बुझ्ने बानीले झूटो अनुमान र असमझदारी हटाउँछ। यस्तो अभ्यासले केवल परिस्थितिलाई स्पष्ट पार्दैन, सम्बन्धमा पारदर्शिता र समझदारी पनि बढाउँछ। संवादको बाटो यहींबाट खुल्छ, र तनावको समाधान सम्भव बन्छ।
“Identify Your Triggers” ले भने हाम्रो आत्मचिन्तनलाई अझ गहिरो बनाउँछ। कुनै शब्द, व्यवहार वा प्रसङ्ग सुन्दा किन हामी आवेगमा आउँछौं भन्ने कुरालाई चिन्नु आत्म–सम्बोधनको मूल हो। यस्तो संवेदनशील बिन्दुहरू पहिचान गर्न सक्दा हामी उनीहरूबाट हुने भावनात्मक असर घटाउन तयार हुन सक्छौं। त्यसैगरी, “Create a Personal Mantra” अभ्यासले सकारात्मक मनोवृत्ति निर्माण गर्छ। आफूलाई दोहोर्याएर भन्ने सरल वाक्य—जस्तै “म शान्त छु” वा “यो मेरो बारेमा होइन”—ले मस्तिष्कलाई नयाँ सोच दिने गर्छ। यस्तो सकारात्मक पुष्टि अभ्यासले तनाव कम गर्न, आत्मविश्वास बढाउन र भावनात्मक सन्तुलन राख्न मद्दत पुर्याउँछ।
“Prioritize Your Peace” ले हामीलाई जीवनका प्राथमिकता निर्धारण गर्न प्रेरित गर्छ। अरूको व्यवहार, धारणा वा आलोचना हामीले नियन्त्रण गर्न सक्दैनौं, तर त्यसप्रति कस्तो प्रतिक्रिया दिने भन्ने कुरा हाम्रो हातमा हुन्छ। हामी आफूलाई मानसिक रूपमा शान्त राख्न जिम्मेवार छौं, चाहे परिस्थिति कति अप्ठ्यारो किन नहोस्। SHIELD को सार नै बाहिरी अशान्तिमा पनि आन्तरिक शान्ति कायम राख्ने कला हो। त्यस्तै, “Be Self-Aware” अभ्यासले भावनात्मक अवस्था र सोच–प्रक्रियामा लगातार आत्ममूल्याङ्कन गर्न आग्रह गर्छ। जब हामी नियमित रूपमा आत्मसमीक्षा गर्छौं, तब हामी झनै संवेदनशील, जिम्मेवार र सन्तुलित बन्न सक्छौं।
सारांशमा भन्नुपर्दा, SHIELD विधि कुनै सैद्धान्तिक वा प्रेरणात्मक विचार मात्र होइन, व्यवहारमा उतार्न सकिने जीवन–दर्शन हो। यसले व्यक्ति–व्यक्तिबीचको सम्बन्ध सुधार्न, आत्मसम्मानको रक्षा गर्न र भावनात्मक बुद्धिमत्ता विकास गर्न ठोस खाका प्रदान गर्छ। SHIELD अभ्यासको मूल मर्म भनेको यथार्थ जीवनका तनाव, असहमतिहरू र आलोचनालाई आत्मदृष्टिकोण, आत्मनियन्त्रण र उत्तरदायित्वमार्फत सन्तुलित रूपमा सामना गर्नु हो। जब हामी प्रतिक्रियाबाट होइन, उत्तरदायित्वबाट बाँच्न थाल्छौं, तब मात्र हामी आफ्नै जीवनका मालिक बन्छौं। SHIELD केवल छवटा अक्षर होइन, यो आत्मसुरक्षाको कवच हो जसले हाम्रो आत्मबल, सोच र सम्बन्धलाई दृढ बनाउँछ। त्यसैले, हामी अरूलाई होइन, आफूलाई परिवर्तन गरेर नै संसारलाई राम्रो बनाउन सक्छौं।
लेखक: भूपराज जोशी उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय केंद्रीय क्यामपस

