News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाउनुभयो

काठमाण्डौ ।

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय थियो, आर्थिक जोहो।

उहाँले परम्परागत कृषिबाहेक केही काम सिक्नु भएको थिएन। अरू, काम गरौं शैक्षिक योग्यता थिएन। बाबुबाजेले कृषिकै काम गरेका थिए। चौधरीको अगाडि पनि त्यहि एक विकल्प थियो। त्यसैलाई उहाँले व्यावसायिक बनाउने र कमाएर सन्तती पढाउने निधो गर्नुभयो।

२०५७ सालमा जग्गा लिजमा लिएर थोरथोरै तरकारी खेती गरेँ”, उहाँ भन्नुहुन्छ,त्यहि व्यावसायिक खेतीले अहिले मेरो मात्रै हैन, सन्ततीको सपना पूरा भएको छ।”

कृषि कार्यमा मिहिनेती चौधरीले तरकारी खेती गरेर आफ्ना तीन छोरीलाई स्नातकोत्तरसम्म पढाउन सफल हुनुभएको छ। उहाँका छोरी रेखा, करिश्मा र रविताले फाइनान्समा स्नातकोत्तर गर्नुभएको छ। धनगढीमै रहेको कैलाली बहुमुखी क्याम्पसबाट तीनै जनाले स्नातकोत्तर गर्नु भएको हो।

आफू नपढेकाले दुःखकष्ट गरेर सबै सन्तानलाई राम्रो शिक्षा दिएकोमा गर्व महसुस भएको चौधरीको भनाइ छ। “मैले पढ्न पाएन, त्यो बेला मेरो बाध्यता थियो”, उहाँ भन्नुहुन्छ,“तर, बालबच्चालाई राम्रो शिक्षा दिन्छु भन्ने सपना बोकेको थिएँ। त्यो पूरा भएको छ।”

पढाइ पूरा गरेर अब दुई छोरीले कृषिको काममा सघाइ रहनुभएको छ। जेठी रेखाले गतवर्ष नेपाल विद्युत् प्राधिकरणमा नाम निकालेर उतै काम गर्ने गरेको र दुई छोरीले कृषिको काममा सघाउने गरेको प्रदेशुको भनाइ छ।

“मैले उनीहरूलाई बाटो देखाइ दिएँ”, उहाँ भन्नुहुन्छ,“पढाइ पूरा गरेर अहिले छोरीले कृषिको काममा सघाउने गरेका छन्। तरकारी खेती अब उनीहरूकै भरमा चलेको छ।”

चौधरीलाई उहाँका छोरीहरूले आफ्नो रोल मोडल मान्ने गर्नु भएको छ। “म नपढेकोले तिमीहरूलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो बुबाले”, माइली छोरी करिश्मा चौधरीले भन्नुभयो,“हाम्रो पढाइका लागि उहाँले धेरै परिश्रम गर्नु भएको छ। कहिल्यै केही कञ्जुस्याइँ गर्नु भएन। जहिल्यै साथ, सहयोग दिनुभयो। हामी तीनै दिदीबहिनीलाई मास्टर गर्न सहज भयो।”

बुबाले बाटो देखाइ दिएकाले बुबालाई सुख दिनका लागि अब लोकसेवाको तयारीमा जुट्ने करिश्माको भनाइ छ। बुबाले उत्पादन गरेको तरकारी उहाँले नै धनगढीको हात बजारमा पुगेर बेच्ने काम गर्नुहुन्छ। तरकारी महँगो भएको बेला हाट बजारमा दिनको छ हजारसम्मको तरकारी बिक्री गर्ने गरेको उहाँको भनाइ।

महिनामा एक लाख बढी आम्दानी

कृषक चौधरीले ३५ कट्ठा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक ७० हजार भाडा तिर्ने गरी जाइँकै रामसिंह चौधरीको जग्गामा तरकारी खेती भइरहेको छ। बिना तालिम आफ्नै अनुभवले सिजनल, अफसिजनल दुवै खाले तरकारी खेती गर्ने गरेको चौधरीको भनाइ छ।

उहाँले बारीमै पाँच वटा भैँसी पाल्नु भएको छ। यसैगरी, गड्यौला मल पनि उत्पादन गर्दै आउनु भएको छ। तरकारी, दुध र गड्यौला मल सबै बेचेर मासिक एक लाख बढी कमाउने गरेको चौधरीको भनाइ छ। दैनिक २० लिटर दुध उत्पादन हुने गरेको छ। दुधमात्रै मासिक ६० हजारको बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। गोबर र गड्यौला मल हालेर तरकारी खेती गर्ने गरिएकोले उत्पादित तरकारी अर्गानिक नै हुने गर्दछ। तरकारी बिक्रीका लागि बजार समस्या छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.