नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले हालै सरुवा भएका प्रहरी नायव महानिरीक्षकहरूलाई आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उहाँले संगठनको नीति अनुसार सरुवा भएको उल्लेख गर्दै नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने गरी जिम्मेवारी नविन ढंगले निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले सांगठनिक हितलाई प्राथमिकतामा राखी व्यावसायिक ढंगले कार्य गर्न, मातहत प्रहरीलाई अनुशासित र प्रेरित बनाउन र नागरिकमैत्री सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो।
साथै, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत वर्गका समस्या समाधान, विपद् व्यवस्थापन तथा स्थानीय तह र सरोकारवालासँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पनि उहाँको निर्देशन थियो।
यसअघि, विभिन्न विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकहरूले पनि सरुवा भएका अधिकृतहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनु भएको थियो।

