विरेन्द्र बाग:कञ्चनपुर – इजरायल-हमास युद्धको क्रममा अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। इजरायली अधिकारीहरूले जोशी जीवितै रहेको कुनै प्रमाण फेला पार्न नसकेको जानकारी दिएका छन्। यद्यपि, उनलाई मृत घोषणा पनि गरिएको छैन।
२०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा, किब्बुत्स अलुमिममा रहेका नेपाली कृषि विद्यार्थीहरू पनि प्रभावित भए। सो क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भयो, र केही घाइते भए। विपिन जोशी, जो सो समयमा त्यहाँ अध्ययनरत थिए, हमासद्वारा अपहरणमा परेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हालै २१ जना बन्धकहरू जीवित रहेको विश्वास व्यक्त गरे पनि, तीन जना बन्धकहरूको अवस्थाबारे गम्भीर शंका व्यक्त गरेका छन्। तीमध्ये दुई जना विदेशी नागरिकहरूमा नेपाली विपिन जोशी र थाईल्यान्डका पिन्ता नत्तापोङ छन्। इजरायली अधिकारीहरूले युद्ध सुरु भएदेखि हालसम्म ती तीन बन्धकहरूबाट कुनै संकेत प्राप्त नभएको बताएका छन् ।
विपिन जोशीको परिवार र साथीहरू उनको अवस्थाबारे चिन्तित छन्। उनका साथी हिमाञ्चल कट्टेलले भने, “उहाँले हाम्रो जीवन बचाउनुभयो। म आज जीवित छु भने, उहाँकै कारण हो।” परिवारले अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित निकायहरूलाई विपिनको सुरक्षित रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।
नेपाल सरकार र इजरायली अधिकारीहरूले विपिन जोशीको अवस्थाबारे जानकारी संकलन गर्न र उनको सुरक्षित रिहाइका लागि प्रयास जारी राखेका छन्।

