

विरेन्द्र बाग:कञ्चनपुर, जेठ १ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ६१ औं तथा राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
स्थानीय युवा तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा स्वेच्छिक रक्तदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मानव सेवामा युवाको भूमिका र सामाजिक उत्तरदायित्व प्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थापना दिवसको अवसरमा अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय क्याम्पस कमिटीद्वारा विश्वविद्यालय परिसरमा बृहत सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको थियो।
अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष अमर धामीले स्थापना दिनलाई रचनात्मक, मानवीय र समाजोपयोगी कार्यहरू गर्दै जनताको हितमा अघि बढ्ने अवसरको रूपमा मनाइरहेको जानकारी दिनु भयो।
“स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई सेवामूलक कार्य मार्फत मनाउनु हाम्रो उद्देश्य हो,” राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिनेश बिष्टले जानकारी दिनु भयो।
कार्यक्रममा स्थानीय स्वास्थ्य संस्था, समाजसेवी, युवा नेता लगायतको उपस्थिति रहेको थियो।

