
विरेन्द्र बाग:कञ्चनपुर, जेठ ३। रङ्ग, उत्साह र हर्षोल्लासको पर्व होलीलाई केवल मनोरञ्जनमा सीमित नराखी सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्ने उदाहरणीय प्रयास गरिएको छ। भीमदत्त नगरपालिका–१३ मा होली पर्वको अवसरमा संकलित रकमबाट विभिन्न धार्मिक तथा सामुदायिक संस्थालाई सामग्री सहयोग प्रदान गरिँदा समुदायमा सकारात्मक ऊर्जा थपिएको छ।
महाकाली आमा समूह, कालिका मन्दिर व्यवस्थापन समिति, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति र विजय टोल सामुदायिक विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न मन्दिर र संस्थाहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरियो।
संकलित रकमबाट बैजनाथ मन्दिरलाई १० थान प्लास्टिक कुर्सी, राधाकृष्ण मन्दिरलाई १० कुर्सी, १ टेबल र १ थान मोटर पाइप, कालिका मन्दिरलाई १० कुर्सी, ७ थान कलश लौटा र १ टेबल तथा विपद् व्यवस्थापन समूहको कार्यालयका लागि १९ कुर्सी र १ टेबल सहयोग प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ।
कालिका मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षता थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. १३ का वडाध्यक्ष राम बहादुर बोहरा उपस्थित थिए। कार्यक्रमलाई थप गरिमामय बनाउने क्रममा वडा सदस्यद्वय बाला देवी नाथ, दीपक बुढा, सिद्धनाथ मावि व्यवस्थापन समितिका अध्यक्ष महेश भट्ट, बैजनाथ मन्दिर समितिका उपाध्यक्ष कालु सिंह साउद, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष गंगा साउद, तथा समाजसेवीहरू भोजराज ने, जनक सिंह, कलक सिंह, रमा ठगुन्ना, बसन्ती खड्का र पिंकी चदारोको सक्रिय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले, “एक ढुङ्गाबाट सुरु भएको पूजा आज जनसमुदायको आस्थाले समृद्ध मन्दिरमा परिणत भएको छ,” भन्दै सहयोगी हातप्रति आभार व्यक्त गरे।
प्रमुख अतिथि वडाध्यक्ष बोहराले होली कमिटीको सामाजिक भावना र सक्रियता सराहनीय रहेको उल्लेख गर्दै कालिका मन्दिर क्षेत्रलाई ‘रामानुज तीर्थस्थल’को रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए।
महाकाली आमा समूहकी सचिवसमेत रहेकी समाजसेवी कान्ति सिंहले भनिन्, “होली केवल रमाइलोको नाम होइन, समुदायप्रतिको प्रेम र उत्तरदायित्वको पनि अवसर हो।” उनले आगामी वर्षहरूमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
पर्वको रङ्ग समाजसेवाको रंगमा मिसिँदा समुदायमा सहकार्य, सहभाव र सेवाभावको गहिरो सन्देश छरिएको अनुभूति सहभागीहरूले गरेका थिए।

