विरेन्द्र बाग:कञ्चनपुर, ५ जेठ– “हामीले सपना देखे नौं, सेवा देखायौं।” — यो भनाइ सँगै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले तीन वर्षे कार्यकालको प्रभावशाली उपलब्धिहरु सार्वजनिक गरे। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नगरको समग्र विकास यात्रालाई प्रस्तुत गरे, जुन भौतिक पूर्वाधार देखि सामाजिक सेवा, वातावरणीय व्यवस्थापन देखि स्मार्ट प्रविधि प्रयोग सम्म फैलिएको छ।
पूर्वाधार विकासः आंकडा भन्दा माथि प्रभाव
तीन वर्षको अवधिमा नगरपालिकाले १९ किलोमिटर सडक ट्रयाक खोल्यो, ४० किलोमिटर ग्राभेल गर्यो, ३३.८० किलोमिटर स्तरोन्नति र ४.१४ किलोमिटर कालोपत्रे सम्पन्न गर्यो। नगर चक्रपथ योजनाअन्तर्गत कालागौडी–जोनापुर, समूह चौराहा–नहर र भमरभोज खण्डमा पनि कालोपत्रे कार्य सम्पन्न भयो।
दुई वटा कभर्ड हल, नयाँ प्रशासनिक भवन, र ३ वटा वडा कार्यालय भवनमार्फत जनसेवा प्रणाली थप प्रभावकारी बनाइएको छ।
शिक्षा, स्वास्थ्य र समाजका लागि बलियो संरचना
३ वटा नयाँ विद्यालय भवन सञ्चालनमा छन्, ५ वटा निर्माणाधीन छन्।
कृष्ण माविमा सुविधासम्पन्न छात्रावास निर्माणाधीन छ।
३ वटा स्वास्थ्य संस्था भवन सम्पन्न, १ शहरी स्वास्थ्य भवन निर्माणाधीन।
वडा १० मा योग भवन र मञ्च प्याराफिट निर्माण।
११ दलित परिवारका लागि आवास निर्माण।
२५३ जनालाई ३० हजार, १२८ जनालाई ५० हजारका दरले आवास अनुदान।
सुरक्षा, प्रविधि र पर्यावरण संरक्षणमा समर्पण
३०० सडक बत्ति, ११ सोलार बत्ति, १० हाईमास्ट लाइट जडान।
मुख्य चोकमा CCTV, गुणस्तर परीक्षणका लागि मेसिन प्रयोग।
१०० ह्युमपाइप खरिद गरी ढल/डुवान नियन्त्रण।
७.४५ किमी मेषवायर घेरबारले वन्यजन्तु द्वन्द्व न्यूनीकरण।
३.५ किमी पदमार्ग निर्माण गरी पर्यटन प्रवर्द्धन।
नदीजन्य पदार्थ संकलनबाट ४५ लाख राजस्व संकलन।
शक्ति र सम्भावनाको संयोजन
शुक्लाफाँटाले अब ‘स्मार्ट नगरपालिका’ बन्ने दिशामा पाइला टेकेको छ। “जनताको विश्वास हाम्रो ऊर्जा हो,” प्रमुख महराले भने, “हामी फोहोर उत्सर्जन शून्यमा झार्ने, सिँचाइ, शिक्षा र सेवा प्रवाहलाई थप चुस्त बनाउने योजनामा छौँ।”
नगरपालिकाले अहिलेसम्म १२० वटा बोरिङ जडान गरिसकेको छ। बजार क्षेत्रमा नाली, ढल र फोहोरमैला व्यवस्थापनका काम तीव्र छन्। पूर्वपश्चिम लोकमार्ग खाली गराउँदै नगरलाई सुव्यवस्थित बनाउने अभियान अघि बढाइएको छ।

