बझाङ, जेठ ६ बझाङको वित्थडचिर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश खड्काले आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भएका विकास र सामाजिक कार्यहरूको सार्वजनिक सुनुवाइ सम्पन्न गरेका छन्। वडाध्यक्ष खड्काले मिति २०८२ साल जेठ ६ गते वडाबासी तथा देश–विदेशमा रहनुभएका नागरिकहरूलाई सामाजिक सञ्जालमार्फत विस्तृत जानकारी प्रस्तुत गरेका हुन्।
तीन वर्षअघि सोही मितिमा जनताको मतबाट निर्वाचित वडाध्यक्ष खड्काले जनसमर्थन र सहकार्यमा सम्पन्न भएका ४५ वटा योजनाहरूको विवरण सार्वजनिक गरे।
वडामा सम्पन्न मुख्य भौतिक पूर्वाधार विकास योजनाहरूमा द्वारी सिँचाइ कुलो निर्माण, द्वारी खानेपानी आयोजना, द्वारी–बुङ्गाबगर सडक तथा सिँचाइ कुलो, गणदेवी आविक संरक्षण, गरिदेवी भान्सा कोठा, कचडाको खानेपानी योजना, गढदेवी मन्दिर निर्माण, बुगाबगरको गोरेटो बाटो, पाडपाखा लिफ्टिङ खानेपानी योजना, कालिका कैरला मन्दिर निर्माण, युपी ओजेना खानेपानी आयोजना, दलित बस्ती तटबन्धन, कनेखोला मुहान संरक्षण, गणेश पिचास मन्दिर निर्माण, ठुलापन्यर सिँचाइ पोखरी मर्मतलगायत रहेका छन्।
स्वास्थ्य र शिक्षा क्षेत्रमा पाटपाखा स्वास्थ्य केन्द्र मर्मत तथा सामग्री वितरण, भगवती माविमा भवन, मैदान, घेरबार, शौचालय, खानेपानी, भान्सा कोठा निर्माण, आवश्यक जनशक्ति व्यवस्थापनसमेत गरिएका छन्।
कृषिक्षेत्रमा आत्मनिर्भरता अभिवृद्धिका लागि टनेल, तरकारी बीउ, फलफूलका बिरुवा, बाख्रा–बोका वितरण, अगुवा कृषकलाई खोर निर्माण सहयोगजस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
सामाजिक सुरक्षाको क्षेत्रमा, आमाबाबु गुमाएका असाहाय बालबालिकालाई छात्रवृत्ति, संस्कृति संरक्षणका लागि तीज, गौरा, मडको जात्रामा देउडिया–धामीझाँक्रीलाई सम्मान, युवालाई उद्यमशीलता तथा कम्प्युटर तालिम, मृतक परिवारलाई क्रिया खर्च सहयोग, विपन्न परिवारलाई टिनको छानो, दलित लक्षित आरन सहयोग तथा महिला लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
ऊर्जा तथा यातायात पूर्वाधारमा पाडपाखा, कचडा, द्वारी, बहुनाली, बुङ्गा, पारपाखा, मडमहलचिरमा विद्युत् विस्तार तथा देउलेक–पाडपाखा ग्रामीण सडक स्तरउन्नतिका लागि प्रदेश तथा संघ सरकारसँग सहकार्य भइरहेको छ।
समाजिक सहिष्णुता र मेलमिलापका लागि अदालत तथा सम्बन्धित निकायसँग सहकार्य गरी सचेतना र मेलमिलाप तालिमहरू सञ्चालन गरिएको वडाले जनाएको छ।
वडाध्यक्ष खड्काले जनताको निरन्तर समर्थन र सहभागिताबाट तीन वर्षको अवधिमा दर्जनौं विकास तथा सामाजिक कार्यहरू सम्पन्न गर्न सफल भएको भन्दै सबैप्रति गहिरो आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनमा अझ जनमुखी र प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सार्वजनिक सुनुवाइबाट वडा नम्बर ६ मा सम्पन्न कार्यहरू जनउत्तरदायी र पारदर्शी भएको जनविश्वास वडाले लिएको छ।

