कन्चनपुर:महाकाली नदीको विनाशकारी बाढीपछि बाँध निर्माणमा ढिलाइ हुँदै जाँदा कञ्चनपुरका सात वडा तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका छन्।
मन्त्रिपरिषदको निर्णयअनुसार भीमदत्त नगरपालिका–११, १२, १३ र दोधारा चाँदनी नगरपालिका–३, ८, ९, १० मा विपद् जोखिम बढेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपछि गरिएको घोषणासँगै ती क्षेत्रमा रहने बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राखिने बताइएको छ। तर, कसरी काम अगाडि बढाउने भन्नेबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
भीमदत्त १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलका अनुसार अब नेपाली सेनाले बाँध निर्माणमा खटिने सम्भावना छ। “यहाँका स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए, अब संकटग्रस्त घोषणा भएपछि केही ठोस कामको अपेक्षा छ,” उनले भने।
गाइडबन्ड निर्माणमा ढिलाइ, ठेक्का तोड्ने तयारी
गत भदौको बाढीले महाकाली नदीको पुलसँगै निर्माणाधीन गाइडबन्ड भत्काएपछि निर्माणकार्य अलपत्र परेको छ। सुरुमा ठूला ढुङ्गाको प्रयोग गर्ने योजना भए पनि नपाएर कंक्रिट र तारजालीमा ढुङ्गा भरिने नयाँ डिजाइन तयार पारिएको थियो। तर भेरिएसन स्वीकृत नहुँदा काम अघि बढ्न सकेको छैन।
निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभी ले लामो समयसम्म काम गर्न नपाएको भन्दै ठेक्का तोड्ने तयारी गरिरहेको जनाएको छ। “हामी एक वर्षदेखि पर्खिरहेका छौं, अब ठेक्का तोड्नेबाहेक विकल्प छैन,” इञ्जिनियर किशोर पाण्डेले भने।
९५ प्रतिशत काम सकिएको पुल योजना अझै अधुरो
महाकालीमा निर्माण भइरहेको ८ सय मिटर लामो पुल र २७ सय मिटर लम्बाइ, ६ सय मिटर चौडाइको पोखरी सहितको योजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब केवल २ सय मिटरको पहुँच मार्ग कालोपत्र र बाँध निर्माण मात्र बाँकी छ।
२०७४ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित रु ३ अर्ब २७ करोडको लागतमा ठेक्का सम्झौता भएको भए पनि अहिले उक्त योजना संकटग्रस्त क्षेत्रमा रुपान्तरण भइसकेको छ।

