बझाङ: सुदूरपश्चिमको दुर्गम क्षेत्र वित्थड चिर गाउँपालिका वडा नं. ९ मा विद्युत सेवा विस्तारसँगै विकासले तीव्रता पाएको छ। वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीको पहलमा हालसम्म करिब ७५ प्रतिशत क्षेत्रमा विद्युत पुगिसकेको छ।
बाँकी क्षेत्रमा पनि केही दिनमै वायरिङ लगायतका कार्य सम्पन्न गरी पूर्ण रुपमा सेवा पुर्याउने तयारी भइरहेको छ। हिजो डो बापनी पानी क्षेत्रमा आयोजित एक कार्यक्रममार्फत केन्द्रीय प्रसारण लाइनबाट विद्युत आपूर्ति सुरु गरिएको हो।
उक्त कार्यक्रममा वडाध्यक्ष जोशीले भने,
> “विकास जनताले अनुभूति गर्ने कुरा हो। छिट्टै हाम्रो वडा पूर्ण रूपमा विद्युत सुविधा सम्पन्न हुनेछ।”
विद्युतले विद्यालयमा पठनपाठन सहज बनेको छ भने घर–पसल उज्यालोले झलमल्ल भएका छन्। स्थानीयले जोशीको सक्रियताले सम्भव भएको परिवर्तनप्रति धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा वडा प्रतिनिधि, शिक्षक, युवा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो। अब वडा नं. ९ उज्यालो र सम्भावनातर्फ अगाडि बढिरहेको स्थानीयको विश्वास छ।

