दैलेख, असार १५ —गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा सामाजिक समावेशिता, दिगो विकास र प्रविधिमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ।
उक्त नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरू समेटिएका छन्। तीमध्ये प्रमुख योजनाको रूपमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि स्थायी नमूना बसोबासको व्यवस्था प्राथमिकतामा परेको छ। यसअघि नै गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र वितरण गरी अभिलेख संकलन गरिसकेको थियो।
गाउँपालिकाले ‘एक घर, एक धारा’, ‘एक घर, एक रोजगार’, ‘एक वडा, एक उद्योग’ र ‘एक टोल, एक उत्पादन’ कार्यक्रमलाई समेत कार्यान्वयन गर्ने तयारी गरेको छ। अध्यक्ष विसीका अनुसार नीति तथा कार्यक्रम भौतिक, मानव तथा दिगो विकासमा केन्द्रित छन्।
गुराँस गौरव मार्ग निर्माण, कृषि अनुसन्धान केन्द्र, टिसु कल्चर ल्याब, १५ शैयाको अस्पताल सञ्चालन, ५ शैयाको आयुर्वेद अस्पताल निर्माण, योगा हल, खुला व्यायामशाला, डिजिटल गाउँपालिका, र लेस पेपर कार्यालय स्थापना पनि आगामी वर्षका योजना अन्तर्गत छन्।
गाउँपालिकाले सार्वजनिक गरेको नीति कार्यक्रममा शून्य भ्रष्टाचार नीति, बेरुजु नियन्त्रण, बाँझो जमिनको सदुपयोग, ‘कृषकसँग अध्यक्ष कार्यक्रम’, र ‘गुराँसको सान, रैथाने पहिचान अभियान’ पनि समावेश गरिएका छन्।
यसैबीच, गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन्।
उपाध्यक्ष खड्काका अनुसार बजेटले समृद्ध, प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ। भौतिक, सूचना प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा र धार्मिक–सांस्कृतिक पर्यटन क्षेत्रमा समान रूपले बजेट विनियोजन गरिएको जनाइएको छ।
उनले भू-उपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण, विविधिकरण र बजारीकरणमार्फत किसानहरूको जीवनस्तर उठाउने लक्ष्यसहित बजेट तयार पारिएको जानकारी दिइन्।
शिक्षा प्रणालीलाई वैज्ञानिक, व्यवहारिक र प्रविधिमैत्री बनाउँदै सक्षम जनशक्ति उत्पादन गर्ने रणनीति पनि नीति तथा बजेटमा प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले सार्वजनिक सेवा वितरणमा छरितो, पारदर्शी र जवाफदेही प्रणाली अपनाउने प्रतिबद्धता समेत जनाएको छ।

