निलाक्सी चन्द:कञ्चनपुर, ७ साउन/ छाडा चौपायाका कारण कञ्चनपुरमा सडक दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दो छ। राजमार्गदेखि बजार क्षेत्रसम्म छाडा चौपाया खुलेआम हिँडडुल गर्दा दुर्घटनाको अवस्था सिर्जना हुँदै गएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आर्थिक वर्ष २०८१/८२ मा छाडा चौपायाका कारण भएको सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन्। सो अवधिमा चौपायाका कारण नौ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सडकमा अकस्मात चौपाया देखा पर्ने, चोकमा बिचरण गर्ने, विशेषगरी राति र जाडो याममा झन् बढी देखिने भएकाले दुर्घटनाको जोखिम अत्यधिक बढेको चालकहरूको भनाइ छ।
सवारी चालक प्रज्वल मल्ल भन्छन्, “अकस्मात ब्रेक लगाउँदा सवारी साधनमा क्षति पुग्छ, यात्रु घाइते हुने सम्भावना पनि रहन्छ।”
त्यस्तै, स्थानीय अटो चलाउने प्रेम लुहारले भने, “सडकमा अचानक चौपाया देखिने र अव्यवस्थित ढङ्गले हिँड्दा दुर्घटना निम्तिन्छ।”
ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख लक्ष्मण पचभैयाले पनि छाडा चौपायाका कारण सडक दुर्घटना बढेको स्वीकार गरे। उनका अनुसार पूर्व–पश्चिम लोकमार्ग, महेन्द्रनगर बजार र गड्डाचौकी सडक खण्डमा सबैभन्दा बढी दुर्घटना हुने गरेका छन्।
स्थानीय तहले हरेक वर्ष लाखौँ रुपैयाँ बजेट छुट्याउने गरे पनि छाडा चौपायाको उचित व्यवस्थापन नहुनु समस्याको मुख्य कारण बनेको छ।
चौपाया स्याहार तथा उद्धार समाज कञ्चनपुरका अभियन्ता विष्णु पनेरु भन्छन्, “चौपाया सडकमा जथाभावी घुम्ने, र चालकहरू पनि लापरवाह हुने भएकाले दुर्घटना भइरहेको छ।”
उनले मानिस र चौपायाको ज्यान जोगाउन स्थानीय सरकारले गम्भीरताका साथ व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
(चन्द पुलेसो डटकमकी प्रशिक्षार्थी पत्रकार हुन्।)

