विरेन्द्र बाग: साउन २७– कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैयामा एक व्यक्तिले जिउँदै भएकी श्रीमतीको मृत्युदर्ता गराएको घटना सार्वजनिक भएको छ।
स्थानीय दयाराम गिरीले जेठी श्रीमती गोमती देवी गिरी (नाथ)को ०७६ सालमा मृत्युदर्ता गरी जमिन नामसारी गरेको तथ्य ६ वर्षपछि बाहिर आएको हो।
प्रेम सम्बन्धमा रहेका दयाराम र गोमतीले २०६६ साल पुस ४ गते विवाह गरेका थिए। विवाहपछिका केही वर्ष सामान्य बिते पनि पछि वैवाहिक सम्बन्धमा खटपट सुरु भयो। दयाराम नेपाली सेनामा कार्यरत हुँदा श्रीमतीलाई १० धुर जग्गा नामसारी गरेका थिए। तर ०७५ साल असार ३ गते गोमती दुई नाबालक छोरा छाडेर माइती गइन्।
सोही झोँकमा दयारामले ०७६ साल फागुन २० गते वडा कार्यालयमा पुगेर श्रीमतीको मृत्यु भएको भनी दर्ता गराएका थिए। उतिवेला तत्कालीन पञ्चाधिकारी गुरुदेव विकले मृत्यु प्रमाणित गरेर मृत्युदर्ता प्रमाणपत्र जारी गरेका थिए। त्यसपछि ०७६ साल फागुन २२ गते सो जमिन छोरासहित आफ्नो नाममा नामसारी गराएका थिए।
हाल भारतमा बस्दै आएका दयारामले दोस्रो विवाह गरेका छन्। श्रीमतीको मृत्युदर्ता भएको कुरा गोमतीलाई भने ६ वर्षपछि, ०८२ साल असार २३ गते, वडा कार्यालयमा केही कामका क्रममा पुगेपछि मात्र थाहा भएको हो।
“कर्मचारीहरूले ‘तपाईं त मरेको दर्ता भइसकेको छ’ भनेपछि म अचम्म परेँ,” गोमतीले भनिन्, “अब मलाई न्याय चाहिन्छ, त्यो मृत्युदर्ता प्रमाणपत्र खारेजी हुनुपर्छ।”
उक्त घटनामा गैरकानुनी कामकाज भएको भन्दै स्थानीयवासीले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले दयारामले उतिवेला श्रीमती हराएको निवेदन दिएको/नदिएको विषयमा अभिलेख जाँचिने बताएका छन्।
भीमदत्त–४ का वडाध्यक्ष सुशील भट्टले झुक्याएर मृत्युदर्ता भएको पुष्टि गर्दै छानबिनपछि खारेजी प्रक्रिया अघि बढाइने जानकारी दिनु भएको छ।

