कैलाली अनलाइन टिभी पत्रकार संघ, नेपाल कैलाली जिल्लाको पहिलो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रमा अनलाइन टिभीको बढ्दो प्रभावलाई संस्थागत विकास गर्ने उद्देश्यले गठन गरिएको यस संघको जिल्लास्तरीय पहिलो निर्वाचन प्रक्रिया निर्विरोध सम्पन्न भएको हो।
अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा भरत साउद (आलोक), उपाध्यक्षमा रमेश एडी, सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सहसचिवमा तिलक राज ढुङ्गाना चयन भएका छन्।
त्यसैगरी समावेशी सदस्यतामा प्रेम बिक र सागर चौधरी, खुला सदस्यतामा गणेश बिष्ट र यज्ञराज अवस्थी निर्वाचित भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्ने वक्ताहरूले अनलाइन पत्रकारिता वर्तमान समयमा जनतासँग नजिक पुग्ने सबैभन्दा छिटो र प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै अनलाइन टिभी पत्रकारहरूको भूमिकालाई अझ सबल बनाउन नयाँ नेतृत्वले ठोस कार्यक्रम अघि सार्ने अपेक्षा व्यक्त गरेका छन्।
नव–निर्वाचित अध्यक्ष भरत साउद (आलोक) ले आफ्नो कार्यकालमा पत्रकारहरूको पेशागत अधिकार, सीप विकास र अनलाइन पत्रकारिताको मर्यादा तथा आचारसंहिता पालनामा संघले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूलाई एउटै मञ्चमा ल्याएर सामूहिक आवाज बुलन्द गर्ने र स्थानीय तहदेखि प्रदेश तथा संघीय तहसम्म प्रेस स्वतन्त्रता र पत्रकारहितका विषयमा सक्रिय भूमिका खेल्ने योजनाबारे जानकारी दिनुभयो।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई विभिन्न सञ्चार संस्था, पत्रकारहरू, संघ–संस्था तथा सरोकारवालाहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

