विरेन्द्र बाग:कंचनपुर , भदौ ७ आज भाद्रकृष्ण औँसी, वैदिक सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक कुशे औँसी पर्व मनाइरहेका छन्। देशभर आज बिहानैदेखि ब्राह्मणद्वारा विधिपूर्वक उखेलेको पवित्र कुश भित्र्याउने क्रम चलिरहेको छ।
धार्मिक शास्त्रअनुसार आजको दिन उखेलिएको कुश वर्षभरि देवता र पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ। अन्य दिन उखेलिएको कुश त्यही दिनसम्म मात्र सीमित रहने हुँदा यो औँसीको विशेष धार्मिक महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
भगवान् विष्णुको प्रतीक कुशसहित तुलसी, पीपल र शालिग्रामलाई पनि विशेष पूजाआजा गरिने यस पर्वमा ब्रह्माजीद्वारा सृष्टि आरम्भसँगै विवेकशील मानव जातिका लागि पवित्र कुशको उत्पत्ति गरिएको धार्मिक विश्वास छ।
पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्वको छ। आजकै दिनलाई लक्षित गर्दै छोराछोरीहरूले बाबुप्रति सम्मान प्रकट गर्ने ‘बुबाको मुख हेर्ने’ परम्परा पालन गरिरहेका छन्। बाबु जीवित रहेका सन्तानहरूले मिठाइ, भोजन आदिबाट सेवा गर्दै आदर प्रकट गर्छन् भने दिवङ्गत बाबु भएकाहरूले तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदा अर्पण गर्छन्।
पशुपति, गोकर्ण, बागमती र अन्य तीर्थस्थलहरूमा आज बिहानैदेखि तर्पणदाताको भीड लागेको देखिएको छ। कतिपय स्थानहरूमा यो पर्वलाई पितृ तर्पणको सबैभन्दा ठूलो दिनका रूपमा लिइन्छ।
कुशे औँसी, धार्मिक विधिको मात्र पर्व नभई पितृ सम्मान, पवित्रता र पारिवारिक सम्बन्ध सुदृढीकरणको पर्व पनि हो।

