विरेन्द्र बाग: भाद्र १३ अछाममा छाउपडी प्रथाले फेरि दुःखद घटना निम्त्याएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, बारलामा महिनावारी भएका कारण त्रिपालमुनि बसिरहेकामा माथिबाट ढुङ्गा खस्दा दुई जनाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २८ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारी रहेकी छन् । यस्तै, सोही स्थानकी रत्नकला भण्डारी घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गए राति स्थानीय चुरकुली भन्ने स्थानमा निरन्तर वर्षाका कारण जमिन चिप्लिएर माथिबाट ढुङ्गा खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा त्रिपालमुनि सुतेका तीन जनालाई ढुङ्गा लाग्दा दुईको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी र स्थानीय बासिन्दा तत्कालै उद्धारका लागि पुगेका थिए । घटनाले फेरि अछाममा छाउपडी प्रथाको भयावहता उजागर गरेको छ ।
अछाममा विगत केही वर्षयता सरकारी निकाय, स्थानीय तह र विभिन्न संघसंस्थाको सक्रियतामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । तर, गोठ भत्काएपछि महिनावारी भएका महिलाले बस्न सुरक्षित विकल्प पाउन सकेका छैनन् ।
गोठ नभएकाले धेरै महिला घर बाहिर आँगनमै त्रिपाल टाँगेर बस्ने गरेका छन् भने कतिपय ठाउँमा जंगल वा ओडार खोजेर रात बिताउने गरेका छन् । सुरक्षित आवास नहुँदा उनीहरू निरन्तर प्राकृतिक विपत्ति, जाडो, चिसो, सर्पबिच्छीको टोकाइ र यस्ता दुर्घटनामा परिरहन बाध्य छन् ।
नेपाल सरकारले छाउपडी प्रथालाई गैरकानुनी घोषणा गरेर २०७४ सालमा कानूनन अपराध मानेको छ । तर व्यवहारमा भने अझै ग्रामीण भेगमा यसलाई काटेकोर रुपमा पालन भइरहेको छ । महिनावारी भएका महिलाले घरभित्र बस्न नपाउने, खाना पकाउन वा गाईबस्तु छोउन नपाउने जस्ता विभेदपूर्ण व्यवहार अझै कायम छ ।
विशेष गरी अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली लगायतका जिल्लामा यो प्रथा अझै बलियोसाथ जरा गाडेर बसेको छ । प्रहरी, स्थानीय प्रशासन र सामाजिक अभियन्ताहरूको सक्रियतामाथि प्रश्न उठ्ने गरेको छ ।
छाउपडीकै कारण महिलाहरू सर्पको टोकाइ, जाडोले मृत्यु, धुवाँमा घुट्मिएर मृत्यु, बलात्कार र यौन हिंसाका घटनाहरूमा परिरहेका छन् । यो श्रृंखलामा पछिल्लो थपिएको दुःखद घटना अछाममा भएको हो ।
अन्धविश्वास र सामाजिक दबाबका कारण महिला आफैं पनि घरभित्र बस्न नसक्ने अवस्था छ । कतिपय अवस्थामा परिवार र समाजको दबाबमा महिला आफैं छाउपडी बस्न बाध्य हुने गरेको तथ्यांक र अध्ययनहरूले देखाएका छन् ।
विशेषज्ञहरूका अनुसार छाउगोठ मात्र भत्काएर समस्या समाधान हुने छैन । महिलालाई सुरक्षित बसोबासको व्यवस्था, चेतना अभिवृद्धि, समुदायस्तरमा व्यवहारिक शिक्षा र कानुनको कठोर कार्यान्वयन नभएसम्म यस्ता घटना दोहोरिनु स्वाभाविक देखिन्छ ।
अछाममा घटेको ताजा घटनाले फेरि देखाएको छ—महिनावारीमा महिलाको लागि “न घर, न सुरक्षित गोठ” भन्ने वास्तविकता अझै परिवर्तन हुन सकेको छैन ।

