विरेन्द्र बाग: भाद्र १५ प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा दुई नेताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा छलफल गर्दै आगामी दिनहरूमा पारस्परिक रूपमा लाभदायक सहयोगलाई अझै सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित भएकाले समस्यारहित रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी २०२५ मा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै एससीओमा नेपालको सदस्यता आकांक्षालाई समर्थन गर्न चीनसँग आग्रह गर्नुभयो।
प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्ने अपेक्षा व्यक्त गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु लचिलोपन तथा जनता–जनता सम्बन्धजस्ता क्षेत्रमा थप सहयोगको लागि अनुरोध गर्नुभयो। साथै, हालै भारत–चीनबीच लिपुलेक पास हुँदै सीमा व्यापारसम्बन्धी भएको समझदारीप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
राष्ट्रपति सी जिनपिङले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न चीन नेपालसँग सहयोग गर्न तत्पर रहेको दोहोर्याउनुभयो। उहाँले संयुक्त राष्ट्रसंघ तथा एससीओलगायत बहुपक्षीय मञ्चहरूमा चीनले नेपालसँग सहकार्य गर्ने बताउनुभयो। एक चीन सिद्धान्तको दृढ पालना गरेकोमा राष्ट्रपति सी जिनपिङले नेपाललाई धन्यवाद ज्ञापन गर्दै, सहमति भएका उच्च गुणस्तरीय बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाउनुभयो।
यसअघि, प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डल आज दिउँसो तियानजिन आइपुग्दा चीनको भन्सार सामान्य प्रशासनको चिनियाँ कम्युनिष्ट पार्टी समितिकी मन्त्री श्रीमती सुन मेइजुन, तियानजिन जन काँग्रेसका अध्यक्ष यु युनलिन र चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनको छेउमा विभिन्न विश्व नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भोलि राष्ट्रपति सी जिनपिङ र म्याडम पेङ लियुआनले आयोजना गर्ने स्वागत भोज तथा गाला कार्यक्रममा सहभागी हुनेछन्।

