व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन गर्दै सडकमै बस्ने चेतावनी दिएपछि देशको राजनीतिक वातावरण फेरि तातिएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले “व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छु” भन्दै पूर्व–पश्चिमको व्यापार, बजार र सवारी आवागमन पूर्ण रूपमा बन्द हुने दाबी गरे।
उनका अनुसार आन्दोलन सुरु भएपछि मेचीदेखि महाकालीसम्मका बजार ठप्प हुने र सर्वसाधारणलाई आवश्यक परेन भने सडकमा ननिस्कन आग्रह गरिएको छ। NPL खेलकुदमा असर पर्छ कि भन्ने प्रश्नमा प्रसाईंले आन्दोलन नरोकिने बताउँदै “दर्शकले घरमै बसेर खेल हेर्नु” टिप्पणी गरे। खेलाडी मैदान कसरी पुग्छन् भन्ने जिज्ञासामा उनले व्यंग्य गर्दै “खेलाडी त कुदेर पनि गइहाल्छन्” प्रतिक्रिया दिए।
उनको कठोर चेतावनीपछि देशभर सुरक्षा निकाय र प्रशासन उच्च सतर्क अवस्थामा रहेको बताइएका छन्।

