कञ्चनपुर : ३० पौष, कम्युनिष्ट युवा संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले नेपाल र भारतबीच २०५२ सालमा सम्पन्न महाकाली सन्धिअनुसार टनकपुरबाट निर्माण गरिएको महाकाली सिँचाइ आयोजनाको मूल नहर जीर्ण अवस्थामा पुगेको जनाएको छ।
संगठनद्वारा जारी विज्ञप्तिअनुसार नहर निर्माण भए पनि दीर्घकालीन योजना नबनाई तथा नहरको वस्तुगत अवस्था अध्ययन नगरी काम अघि बढाइँदा नहरको अवस्था कमजोर बन्दै गएको छ। यसका कारण मूल नहर आसपासका उपभोक्ता किसानहरू हरेक वर्ष सिँचाइ समस्यामा परिरहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नहर जीर्ण हुँदा किसानको खेतबारी प्रभावित भएको र जनजीवन कष्टकर बनेको जनाइएको छ। लामो समयदेखि देखिएको समस्या समाधानतर्फ सम्बन्धित निकायले आवश्यक ध्यान नदिएको आरोप संगठनले लगाएको छ।
यस्तै, भीमदत्त नगरपालिकाको वडा नम्बर ७ लगायतका क्षेत्रमा निर्माणाधीन शाखा नहरको काममा मुआब्जा नदिई निर्माण अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ। मुआब्जा निर्धारण नगरी निर्माण व्यवसायी तथा आयोजनाका कर्मचारीले डर–धम्की देखाएर काम गरिरहेको आरोप पनि संगठनले लगाएको छ।
संगठनले मुआब्जा निर्धारण समिति संयोजक तथा सम्बन्धित सरोकारवाला निकायसँग समस्या तत्काल समाधान गर्न माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध संघर्ष गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
मङ्गलबार मात्रै न्यूज सेभेन टेलिभिजनले रिपोर्टिङ गरेको थियो । विज्ञप्ति संगठनका जिल्ला अध्यक्ष अनमोल ठकुरीद्वारा जारी गरिएको हो।

