विरेन्द्र बाग: काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबि कुमारी ठाकुर ले दाइजो प्रथाविरुद्ध कडा अडान सार्वजनिक गर्दै दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने घोषणा गर्नुभएको छ।
हालै प्राप्त विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै उपसभामुख ठाकुरले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताउनुभयो।
उहाँका अनुसार दाइजो लिनु र दिनु मात्र नभई, त्यस्ता लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुग्ने उहाँको भनाइ छ।
उहाँले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै अबदेखि दाइजो भएको विवाहमा सहभागी नहुने स्पष्ट जानकारी दिनुभएको छ।
साथै, उपसभामुख ठाकुरले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले दाइजोमुक्त, समानतामा आधारित र सभ्य समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै सबैलाई यस्तो अभियानमा साथ दिन आह्वान गर्नुभएको छ।
