
अछाम जिल्लाका स्थायी बासिन्दा तथा हाल महेन्द्रनगर, कञ्चनपुरमा बसोबास गर्दै आएका सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकाय आठौं सेमेस्टरका विद्यार्थी स्वर्गीय मनिष कुँवरको जन्मदिनको अवसरमा उनका साथीहरूले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेका छन्।
गत २०८३ साल वैशाख ८ गते महाकाली नदीमा पौडी खेल्ने क्रममा दुःखद निधन भएका कुँवरको सानैदेखि समाजसेवाप्रति विशेष लगाव रहेको र भविष्यमा समाजसेवामार्फत योगदान गर्ने सपना रहेको स्मरण गर्दै उनका साथीहरूले आर्थिक सहयोग संकलन गरी मानवीय कार्य गरेका हुन्।
संकलित रकमबाट महेन्द्रनगर बसपार्क नजिक रहेको अनाथालय तथा बाल आश्रम र रौटेलास्थित वृद्धाश्रममा चामल, दाल, तेल, नुहाउने तथा कपडा धुने साबुनलगायत दैनिक उपभोग्य आवश्यक सामग्री हस्तान्तरण गरिएको साथीहरूले बताएका छन्।
मनिषको सम्झनालाई केवल भावनामा सीमित नराखी समाजसेवामार्फत जीवित राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनीहरूका साथीहरूले बताए। उनीहरूले आगामी दिनमा पनि स्वर्गीय मनिष कुँवरको सपना र समाजसेवाप्रतिको भावना निरन्तर अघि बढाउँदै यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

