News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको खेद

User Photo
सोमवार, फाल्गुन ५, २०८१
काठमाण्डौ ।

 

फागुन ५—राष्ट्रिय सभाको काम र सदस्यको उमेरबारे राप्रपा सांसद ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको बैठकले खेद प्रकट गरेको छ । राष्ट्रिय सभाबाट पारित मिडिया काउन्सिल विधेयकलगायत विषयमा शाहीको फेसबुक स्टाटसप्रति आइतबारको बैठकले खेद व्यक्त गरेको हो ।

 

 

‘कसैले पनि लाइक, सेयर र सरकारले गरेका गलत गतिविधिको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरे’ शाहीले राष्ट्रिय सभालाई लक्षित गर्दै फेसबुकमा लेखेका छन् । उनले स्टाटसमार्फत राष्ट्रिय सभाका सांसदको उमेरबारे पनि टिप्पणी गरेका थिए । तर मिडिया काउन्सिल विधेयकमा कसैले सामाजिक सञ्जालमा लेखे, लाइक वा कमेन्ट गरेमा कानुनी कारबाही हुने व्यवस्था गरिएको छैन । त्यस्तो व्यवस्था सामाजिक सञ्जाल विधेयकमा हो । उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएको मात्रै छ ।

प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभा बैठकमा सांसदले आपत्ति जनाएका थिए । माओवादी सांसद गंगाकुमारी बेल्वासेले सभाको विशेषाधिकार हननमा शाहीलाई कारबाही माग गरेकी थिइन् । कांग्रेस सांसद नारायणदत्त मिश्रले अभिव्यक्ति दिँदा ख्याल राख्न आग्रह गरेका थिए । ‘मिडिया काउन्सिल विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ,’ उनले भनेका थिए ।

 

एकीकृत समाजवादीकी सांसद जयन्ती राईले आपत्ति जनाएकी थिइन् । ‘प्रतिनिधिसभा सांसद शाहीको अभिव्यक्तिले राष्ट्रिय सभाको विशेष अधिकार हनन भएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्छु, सभाले खेद प्रस्ताव पारित गर्नुपर्छ,’ उनको माग थियो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शाहीले व्यक्त गरेको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण रहेको बताएका थिए ।

मिडिया काउन्सिल विधेयकमा राष्ट्रिय सभाका २६ सांसदले विभिन्न दफामा ७८ वटा संशोधन दर्ता गरी विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्तासँग छलफल गरेको अध्यक्ष दाहालले बताए । समितिका १४ बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनसहित विधेयक पारित भएको जानकारी उनले दिएका थिए ।

 

‘यसरी पारित भएको विधेयकको सम्बन्धमा शाहीले यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका सदस्यको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्छ,’ अध्यक्ष दाहालले भने, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन शाहीलाई यो सभा निर्देशनसमेत दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.