विरेन्द्र बाग,कञ्चनपुर / नेकपा एमाले केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूले सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। आयोगका अध्यक्ष डा. प्राध्यापक पुष्पराज कँडेलको नेतृत्वमा टोलीले निकुञ्ज भ्रमण गरेको हो।
टोलीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्ष कँडेलसहित गण्डकी प्रदेशका मन्त्री पदम जिसी श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व मन्त्री विष्णु प्रसाद पन्थी, बागमती प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रामशेखर श्रेष्ठ, कोशी प्रदेशकी पूर्व मन्त्री जसुमाया गजमेर, संविधानसभा सदस्य शान्तिमाया पाकिन लगायत सहभागी भएका थिए।
उक्त भ्रमण नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको व्यवस्थापनमा सम्पन्न भएको थियो। भ्रमणका क्रममा टोलीले सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय विकासका सम्भावनाहरूका बारेमा जानकारी लिएको थियो।
भ्रमणका क्रममा नेताहरूले सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन, संरक्षण तथा पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। प्रदेश तथा संघीय सरकारमार्फत निकुञ्जको समृद्धिका लागि आवश्यक नीति तथा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
नेकपा एमालेका नेताहरूको यो भ्रमणले सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महत्व उजागर गर्ने र यसको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

