विरेन्द्र बाग: वैशाख ८ – राजधानीको सिंहदरबार अगाडि आज गरिएको विरोध प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरूलाई प्रहरीले गिरफ्तार गरेको छ।
राप्रपाले गणतन्त्र खारेज, हिन्दु राष्ट्र पुनःस्थापना, संवैधानिक राजसंस्थाको पुनर्स्थापनालगायत मागसहित ४० बुँदे ज्ञापनपत्र बुझाउन खोज्दा निषेधित क्षेत्र अतिक्रमण गरेको आरोपमा प्रहरीले बल प्रयोग गर्दै नेताहरूलाई नियन्त्रणमा लिएको हो।
प्रदर्शनका क्रममा प्रहरीले पानीको फोहोरा र लाठीचार्जसमेत गरेको थियो। सो क्रममा प्रमुख सचेतक शाही, सांसद दीपक बहादुर सिंह, सांसद सीमा परियार लगायत धेरै नेताहरू पक्राउ परेका छन्।
राप्रपाले यसलाई सरकारद्वारा गरिएको दमन भन्दै तीव्र विरोध जनाएको छ। अध्यक्ष लिङ्देनले पक्राउ हुनु अघि पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै भने, “हामी लोकतान्त्रिक तरिकाले आफ्ना माग राखिरहेका छौं, तर सरकारले दमन गरिरहेको छ। यो लोकतन्त्रको अपमान हो।”
यसअघि अस्ती (चैत १५ गते) तीनकुनेमा भएको प्रदर्शनमा हिंसात्मक गतिविधि भएको आरोपमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरिसकिएको छ। उनीहरू हाल प्रहरी हिरासतमा छन्।

