दैलेख: “पैसा जीवन जिउने साधन हो, तर पैसा नै जीवन होइन” भन्ने मूल नारासहित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम दैलेखको गुराँस गाउँपालिका–४, रानिमता गुरासेस्थित होटल ड्याडस पराडाइजको सभाहलमा भव्य रूपमा सम्पन्न भयो।
घोडाबास शाखा कार्यालयको आयोजनामा भएको एकदिने कार्यक्रमले वित्तीय अनुशासन, सोचको परिवर्तन, बचत प्रवर्द्धन र आर्थिक आत्मनिर्भरता जस्ता विषयमा सहभागीहरूलाई सशक्त सन्देश दिएको थियो।
कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक चतुर्भुज शाहीले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा गुराँस गाउँपालिका वडा नं. ४ का अध्यक्ष खडक बहादुर शाहीको उपस्थिति थियो। विशिष्ट अतिथिमा अनुगमन अधिकृत दीपक भट्ट, प्रहरी अतिथि रूपमा अस्थायी प्रहरी पोस्ट घोडाबासका इन्चार्ज ईश्वर बहादुर बिक, र शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक लक्ष्मण बहादुर खत्री लगायतको सहभागिता थियो।
कार्यक्रमको उद्घाटनमा स्वागत मन्तव्य कर्मचारी राजेन्द्र कठायतले राखेका थिए भने शाखा प्रमुख शाहीले संस्थाको वित्तीय तथा सामाजिक प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार, २०६९ सालमा स्थापना भएको संस्थाले हालसम्म देशभर १४९ शाखामार्फत १ लाख ६० हजारभन्दा बढी परिवारलाई सेवा पुर्याउँदै १३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह र ३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बचत संकलन गरिसकेको छ।
केन्द्र नं. ६१ की केन्द्र प्रमुख यामकुमारी पुनले महिलाहरू विगतमा साहुकारहरूसँग अत्यधिक ब्याजमा ऋण लिन बाध्य भएको स्मरण गर्दै अहिले आत्मनिर्भर बन्न सफल भएको बताइन्। उनले नियमित किस्ता तिर्ने, बचत गर्ने र आर्थिक अनुशासनमा लाग्ने आह्वान गरिन्।
इन्चार्ज बिकले ऋणको सही सदुपयोग गरी आधुनिक व्यवसायतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो भने अनुगमन अधिकृत भट्टले खर्च व्यवस्थापन, नियमित बचत र आत्मनिर्भरता कायम राख्न सबैलाई प्रेरित गर्नुभयो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा ‘बचत कसरी गर्ने?’ भन्ने विषयमा भिडियो प्रोजेक्टरमार्फत जानकारी दिइयो। उत्कृष्ट केन्द्र प्रमुख तथा महिलालाई नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
सहायक कर्मचारी गणेश बहादुर शाहीका अनुसार, “मन भए पनि धन नपाएकाहरूका लागि मेरो माइक्रोफाइनान्स आशाको किरण बनेको छ।” ‘बचत योजना तयार गरौं, खर्चको बानी सुधारौं’ भन्ने सन्देशले सहभागीहरूमा व्यवहारिक परिवर्तनको प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

