सन्तोष धानुक :कञ्चनपुर, बैशाख १३ । दुर्घटना रोकथाम तथा न्यूनीकरण सम्बन्धी जनचेतनामूलक ट्रयाक्टर बहस कार्यक्रम कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय झलारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
शनिबार शुक्लाफाटा नगरपालिका–११ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, कलुवापुरको सभाहलमा सम्पन्न कार्यक्रम इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बोहरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा सञ्चालित भएको थियो।
कार्यक्रममा शुक्लाफाटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदको अध्यक्षता रहेको थियो।
ट्रयाक्टर धनी, चालक तथा सर्वसाधारण गरी करिब ५५ जनाको उपस्थिति रहेको कार्यक्रममा ट्रयाक्टर सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित सवारी सञ्चालनबारे जानकारी दिइएको थियो।
प्रहरीका अनुसार यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले प्रहरी र समुदायबीच सहकार्य गरी सुरक्षित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

