विरेन्द्र बाग:काठमाडौं, वैशाख १५ ।आइतबार दिउँसो आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग तीव्र झडप भएको छ। आफ्ना विभिन्न मागहरू पूरा गर्न दबाब दिन राजधानी काठमाडौंमा भेला भएका शिक्षकहरू निषेधित क्षेत्र पार गर्दै सिंहदरबारतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो।
शिक्षकहरूले निषेधित क्षेत्रको अवज्ञा गर्दै सडकमा नारा जुलुस गर्दै अगाडि बढ्दा प्रहरीले उनीहरूलाई रोक्न प्रयास गरेको थियो। सुरक्षाकर्मीको अवरोध तोड्दै अघि बढ्ने प्रयासमा शिक्षकहरूले ढुंगामुढा गरेपछि स्थिति अझ चर्किएको थियो। जवाफी कारबाहीस्वरूप प्रहरीले पानीको फोहरा प्रहार गर्दै भिड तितरबितर पारेको थियो।
झडपका क्रममा केही शिक्षक र सुरक्षाकर्मी सामान्य घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनास्थल वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको छ भने थप अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
शिक्षकहरूले पुराना सेवा सुविधा बहाली, पेशागत सम्मान र शिक्षण पेशामा सुधारका लागि सरकारसँग पटक–पटक माग गर्दै आएका छन्। तर, सरकारी तहबाट माग सम्बोधनमा अपेक्षित पहल नभएको भन्दै उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलन आयोजक समितिका अनुसार, उनीहरूले वार्ता तथा सहमतिका लागि सरकारलाई बारम्बार आग्रह गरे पनि माग सम्बोधन हुन नसकेपछि बाध्य भई सडकमा उत्रनु परेको हो। “हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दबाउने प्रयास भयो। तर हामी हाम्रो हक अधिकारका लागि निरन्तर संघर्ष गर्नेछौं,” एक शिक्षक नेता रमेश चौधरीले बताए।
यसैबीच, प्रहरीले आन्दोलनलाई शान्तिपूर्ण राख्न पटक–पटक आग्रह गरेको तर निषेधित क्षेत्र अतिक्रमण भएपछि बाध्य भई बल प्रयोग गरिएको स्पष्ट गरेको छ। “नियमित कानुनी प्रक्रिया अनुसार भीड नियन्त्रण गरिएको हो,” एक प्रहरी अधिकारीले भने।
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ताको प्रयास जारी रहे पनि सहमति जुट्न सकेको छैन। आन्दोलन अझ चर्कने संकेत देखिएको छ।

