दैलेख, वैशाख १८ — नेपाल पत्रकार महासंघ दैलेख शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
महासंघले प्रत्येक वर्ष मे ३ (नेपाली पात्रोअनुसार वैशाख २०) मा मनाइने दिवसलाई विविध कार्यक्रमसहित मनाउँदै आएको छ। यसैअनुसार, यस वर्ष पनि वैशाख १९ गते (शुक्रबार) बिहान देवकोटा चोकमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जानकारी दिए।
उनका अनुसार जिल्ला अस्पतालको सहकार्यमा आयोजना गरिने शिविरमा रक्तदानसँगै नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिनेछ।
त्यसैगरी, वैशाख २० गते (शनिबार) विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन महासंघको वार्षिक साधारण सभा पनि हुने भएको छ। बिहान १० बजे गणेशचोकबाट सुरु हुने र्याली नगर परिक्रमा गर्दै जिल्ला समन्वय समिति सभाहलमा पुगेर औपचारिक कार्यक्रम आयोजना गरिनेछ।
साधारण सभामा महासंघ दैलेख शाखाबाट हालसम्म प्रदेश तथा केन्द्रीय तहमा प्रतिनिधित्व गरेका पत्रकारहरूलाई सम्मान गरिने अध्यक्ष सुनारले बताए। साथै, सभामा आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरी नीति, योजना र भावी कार्यक्रमहरूमा निर्णय गरिनेछ।
संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै, पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रतामाथि बढ्दो आक्रमण, डिजिटल जोखिम र मिडिया साक्षरताको आवश्यकतालाई ध्यानमा राख्दै यस वर्ष दैलेखमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न लागिएको महासंघले जनाएको छ।

