एकेन्द्र सिंह धामी:कैलाली वैशाख २o – प्रतिभाको पहिचान र प्रवर्द्धनमा योगदान पुर्याउँदै सुदूरपश्चिमको प्रतिष्ठित रियालिटी शो सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटी शो ‘एसईई आइडल सिजन–४’ को सेमिफाइनल चरण शनिबार धनगढीको होटल पौवामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशीले गरेका थिए। उनले यस कार्यक्रमले प्रदेशभित्रका किशोरकिशोरीमा लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
एसईई दिने विद्यार्थीहरूलाई लक्षित गर्दै सन् २०८० सालदेखि सञ्चालन हुँदै आएको सो प्रतियोगिता सुदूरपश्चिमका विभिन्न जिल्लामा अडिसनमार्फत प्रारम्भ भएको हो। गायन र नृत्य विधामा गरी दुईवटा विधामा सञ्चालन गरिएको शोको सेमिफाइनल चरणमा उत्कृष्ट प्रदर्शन गरेका १५–१५ जना प्रतिस्पर्धीहरू फाइनल राउण्डका लागि छनोट भएका छन्।
सेमिफाइनलको नतिजा जेठ १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ। उक्त चरणमा दर्शकको भौतिक उपस्थितिमा भोटिङसमेत गराइएको थियो।
कार्यक्रममा विभिन्न शिक्षासंस्थाका प्रमुख, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। सहभागीमध्ये नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरी, एसपीए क्याम्पसका प्रमुख योगराज गौतम, एलायन्स इन्टरनेशनल स्कुलका अध्यक्ष उत्तम भण्डारी, चैतन्य शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, सामाजिक अभियन्ता भरत विक्रम शाह र सिजी ग्रुप सुदूरपश्चिम प्रदेश प्रमुख नेत्र अर्याल प्रमुख थिए।
प्रतियोगितामा सहभागी एसईई तथा कक्षा १२ का विद्यार्थीहरूलाई ‘नमस्ते’ सिम वितरण गरिएको आयोजकले जनाएको छ।
यस सिजनको मुख्य प्रायोजक वाईवाई चाउचाउ, सह-प्रायोजक सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, रेडिकल, नेपाल टेलिकम रहेका छन् भने विभिन्न सञ्चार माध्यम र स्थानीय संस्थाहरूको पनि सहयोग रहेको छ।

