राष्ट्रिय परीक्षा बोर्डले आज (बैशाख २१ गते) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने कक्षा १२ को परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले सम्पूर्ण परीक्षार्थीलाई निर्धक्क भएर परीक्षा दिन आह्वान गरेका छन्। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।
बोर्डका अनुसार परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। परीक्षाका लागि देशभर एक हजार ५९० तथा जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँमा सबैभन्दा बढी १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र तोकिएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब दुई हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र झन्डै २० हजार सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जनाएको छ।
यस वर्ष नियमिततर्फ पाँच हजार २०२ विद्यालयका एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी हुँदैछन्। आंशिकतर्फ एक लाख १५ हजार ६१७ परीक्षार्थी छन्। यसरी कूल परीक्षार्थी संख्या पाँच लाख ११ हजार ५२५ पुगेको छ।

