एकेन्द्र सिह धामी: दार्चुला, २२वैशाख।दार्चुला जिल्लाको लेकम गाउँपालिका–४ गोदालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ।
लेकम गाउँपालिका–५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लाग्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। ढुंगा लागेपछि उहाँले चलाउनु भएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।
गम्भीर अवस्थामा गोकुलेश्वर अस्पताल पुर्याइए पनि उपचार अघि नै डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए। लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीका अनुसार अधिकृत ओझाको निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ।ओझाको निधनको खबरले सम्पूर्ण लेकमबासीलाई स्तब्ध बनाएको छ।

