रेखा धानुक:गोदावरी नगरपालिका–५, अत्तरिया स्थित किडजोन पब्लिक स्कुलले परम्परागत माटाका भाँडाकुँडा निर्माण तथा चित्रकला प्रदर्शनी समेत समेटिएको एक दिने हस्तकला कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरूमा संस्कृति प्रतिको अभिरुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यालयमा हाल ५५० जना विद्यार्थी अध्ययनरत छन्।
कार्यक्रममा विद्यार्थीहरूले आफैंले माटोबाट भाँडाकुँडा बनाउने, चित्र कोर्ने र आफ्ना हस्तकला सामाग्रीहरू प्रदर्शनी गर्ने अवसर पाएका थिए। साथै, लोपोन्मुख परम्परागत सामग्रीहरू बारे जानकारी दिइँदै, तिनको महत्वबारे सचेतना पनि फैलाइएको थियो।
कार्यक्रममा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ। विद्यालयले यसअघि पनि विविध सांस्कृतिक तथा शैक्षिक क्रियाकलापहरू गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापकले यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, सिर्जनात्मकता र संस्कृति प्रतिको सम्मान अभिवृद्धि गराउने विश्वास व्यक्त गरेका छन्।

