विरेन्द्र बाग:जुम्ला, जेठ २५ – जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टको पहलमा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) को शिलान्यास युवराज्ञी हिमानी सरकार र नवयुवराज हृदयेन्द्र सरकारको हातबाट गरिएको छ।
एक विशेष कार्यक्रममा युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्रले संयुक्त रूपमा ढुंगामा खोप्टा हालेर बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन्। कार्यक्रममा स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रममा बोल्दै युवराज्ञी हिमानीले दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्नु हिमानी ट्रष्टको प्रमुख उद्देश्य रहेको बताइन्। उनले भनिन्, “सुत्केरी महिलाहरूलाई सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन यो केन्द्र महत्वपूर्ण हुनेछ।”
त्यस्तै, नवयुवराज हृदयेन्द्रले स्थानीय समुदायको साथ र सहभागिताले मात्र दीगो विकास सम्भव हुने भन्दै सहयोगका लागि सबैलाई आग्रह गरे।
हिमानी ट्रष्टले यसअघि पनि देशका विभिन्न दुर्गम भेगमा स्वास्थ्य, शिक्षा, र विपद् राहतसम्बन्धी कार्य गर्दै आएको छ। मणिसाँघुमा निर्माण हुने बर्थिङ सेन्टरले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

