बझाङ — बझाङको बुङ्गल नगरपालिका–७ स्थित घट्टेखोलामा रातिदेखिको अबिरल वर्षापछि आएको बाढीले जनजीवन त्रस्त बनेको छ। आइतबार बिहान करिब साढे ६ बजे खोलाको पानी सतह अचानक बढेपछि बाढीले घर र पसलमा क्षति पुर्याएको हो।
स्थानीय दिलबहादुर लोहारको ढुङ्गामाटोले बनेको दुईतले, चारकोठे घर बाढीले आधासम्म पुरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस्तै, वडा नम्बर ७ का अध्यक्ष टंकप्रसाद जोशीको जस्तापाताले छाएको सानो पसलमा पनि क्षति पुगेको छ।
खोलासँगै रहेका अन्य चारवटा घर बाढीको थप जोखिममा परेका छन्। यद्यपि घटना स्थलमा मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय बुङ्गलको जानकारी छ।
स्थानीयवासीमा त्रास फैलिएको छ भने जोखिम बढेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरुवा गराउने तयारी स्थानीय प्रशासनले थालेको छ। मौसम अझै बदली रहेकोले जोखिम कायमै रहेको जनाइएको छ।

