
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालित युथम्यापर्स क्लबको नयाँ कार्यसमिति २०८२/२०८३ का लागि गठन गरिएको छ। यसै सन्दर्भमा आज एक विशेष समारोहका बीच पुरानो समितिबाट नयाँ समितिमा जिम्मेवारी हस्तान्तरण गरिएको छ।
क्लबका नवनिर्वाचित अध्यक्ष किरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, इन्जिनियरिङ संकायका डिन प्राध्यापक डा. किशनदत्त भट्ट विशिष्ट अतिथि रहनुभएको थियो। विश्वविद्यालयका विभिन्न संकाय र विभागका प्रमुख, प्राध्यापक, सहप्राध्यापक, विद्यार्थी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता कार्यक्रममा रहेको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष पूजा पालीले आफ्नो कार्यकालमा क्लबले सञ्चालन गरेका विविध सामाजिक, शैक्षिक, प्रविधिमैत्री तथा नक्साङ्कनसम्बन्धी कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले छोटो अवधिमा क्लबले पुर्याएका उपलब्धिहरू उल्लेख गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि उपकुलपति डा. पन्तले युथम्यापर्स क्लबले विश्वविद्यालयका विद्यार्थीहरूलाई समाजसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता गतिविधिले ज्ञानसँगै चेतनाको विकासमा पनि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई अझ दृढ र स्पष्ट कार्यदिशासहित अगाडि बढ्न सुझाव दिनुभयो।
विशिष्ट अतिथि डा. भट्टले क्लबले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास, सोच र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नयाँ समितिले त्यसलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यतिर पुरानो कार्यसमितिका सदस्यहरूलाई प्रशंसापत्र वितरण गर्दै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरियो।
अन्त्यमा, नव निर्वाचित अध्यक्ष किरण भट्टले युथम्यापर्स क्लबलाई आगामी दिनहरूमा थप सक्रिय, नविन र प्रभावकारी बनाउँदै विश्वविद्यालयको समग्र शैक्षिक वातावरणमा उदाहरणीय योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएकोे थियाे।

