विरेन्द्र बाग: चैत्र २२ ।थाइल्याण्ड बैंकक, बिम्स्टेक शिखर सम्मेलनको अवसरमा थाइल्याण्डको राजधानी बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आत्मीय र सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
दुई मित्र राष्ट्रका प्रधानमन्त्रीहरूबीच भएको यो उच्चस्तरीय संवादलाई “अत्यन्तै सार्थक र फलदायी” भन्दै प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको बताएका छन्।
भेटमा द्विपक्षीय हितका मुद्दा, आर्थिक सहकार्य, पूर्वाधार विकास, ऊर्जाको आदानप्रदान, सीमा व्यवस्थापन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा गहन विचारविमर्श भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “प्रधानमन्त्री मोदीसँगको संवाद हार्दिक र उपयोगी रह्यो। यसले दुई देशबीचको मित्रतालाई अझ नयाँ उचाइमा पुर्याउनेछ।”
बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका क्षेत्रीय समृद्धि, व्यापार तथा आपसी सहकार्यका विषयहरूमा समेत दुई नेताबीच समान धारणा बनेको जनाइएको छ।
प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा नेपालको नेतृत्व गर्दै उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बैंककमा छन्। उक्त सम्मेलनले दक्षिण एशिया तथा दक्षिण–पूर्वी एशियाका राष्ट्रहरूबीच क्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

