विरेन्द्र बाग:महेन्द्रनगर ,फागुन ६ । बैजनाथ माध्यमिक विद्यालयलाई नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपलब्ध गराउने निर्णयबाट भीमदत्त नगरपालिका पछि हटेको छ । कबर्ड हलमा गरिएको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयलाई प्रथम शिल्ड प्रदान गरिएको थियो ।
नगरपालिकाले मार्शल आर्टस अन्र्तगत उशु खेलका बैजनाथ माविका १२ खेलाडीलाई निर्णायक समितिले स्वर्ण पदक दिने निर्णय गरेपछि विवाद भएको थियो । विवादकाबीच प्रतियोगिता समापनमा बैनजाथ माविलाई शिल्ड तथा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा दोस्रो सिद्धनाथ अमर माध्यमिक विद्यालय र तेस्रो पूर्णा माध्यमिक विद्यालय ऐरीले शिल्ड तथा पुरस्कार बहिस्कार गरी समापन कार्यक्रममा नाराबाजी गरेका थिए ।
ती दुबै विद्यालयले नगरपालिकाको निर्णय विरुद्ध राष्ट्रिय खेलकूद परिषद्मा निवेदन दिएका थिए । त्यहीं निवेदनका आधारमा राष्ट्रिय खेलकूल परिषद्ले प्रतिस्पर्धा नभएको खेलाडीको हकमा जिल्ला स्तरीय छनौटका लागि सिफारिश गर्न सकिए पनि पदक गणना नहुने पत्राचार गरेपछि नगरपालिकाले प्रतियोगिताको नतिजा पुनरावलोकन गरेको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले राष्ट्रिय खेलकूल परिषद्को परिपत्रको आधारमा माघ २१ गते नतिजा पुनवरावलोकन गर्ने निर्णय गरेको हो । त्यसका आधारमा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा प्रथम घोषित बैजनाथ मावि तृतीय, सिद्धनाथ मावि प्रथम र पूर्णा मावि द्वितीय भएका छन् ।
प्रतियोगितामा सिद्धनाथ अमर मावि १२ स्वर्ण, ३ रजत र ९ कास्य र पूर्णा माविले १० स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गरेको थियो । पुनरावलोकनपछि बैजनाथ मावि ७ स्वर्ण, ४ रजत र १ कास्य भएको छ । उसुका १२ सहित यस अघि बैजनाथको १९ स्वर्ण थियो ।
नगरपालिकाले निर्णयको प्रतिलिपी बैजनाथ माध्यमिक विद्यालयलाई पत्र पठाएको छ । भीमदत्त नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशीले बैजनाथ माध्यमिक विद्यालयलाई नतिजा पुनरावलोकन गरिएको जानकारी सहित पत्र पठाएका छन् । उनले बैजनाथलाई पुनवरावकलोन नतिजा अनुसार शिल्ड तथा पुरस्कार सिद्धनाथ माविलाई उपलब्ध गराउन पत्रमा उल्लेख गरेका छन् ।
बैजनाथ माध्यमिक विद्यालयले नगरपालिकाको पत्र बुझेर शिक्षकहरुले बताए । शिल्ड तथा पुरस्कार फिर्ता गर्ने नगर्ने विषयमा छलफल भएको छैन । विद्यालयले छलफलपछि निर्णय लिने शिक्षकहरुले बताए ।
विद्यालय व्यवस्थापन समितिका स्वर्गिय अध्यक्ष कलौनी कलौनीले शिल्ड कुनै पनि हालतमा फिर्ता नहुने बताएका थिए । नगरपालिकाले बैजनाथ माविलाई पठाएको पत्रको जानकारी सिद्धनाथ र पूर्णा मावि दुबैलाई पठाएको छ ।
प्रतियोगिता समापन कार्यक्रममा शिल्डका कारण विवाद हुने भएपछि भीमदत्तका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी कार्यक्रम छाडेर बाहिरिएका थिए ।
प्रतियोगितामा सिद्धनाथ र पूर्णाका विद्यार्थी शिक्षकहरुले नाराबाजी गरेपछि सुरक्षाकर्मी बोलाएर शिल्ड प्रदान गरिएको थियो । उशुका खेलाडीलाई स्वर्ण पदक दिने निर्णयपछि निर्णायक समिति(जुरी)मा दुबै विद्यालयले निवदेन दिएका थिए ।
सिद्धनाथ अमर मावि गड्डाचौकीका खेल शिक्षक नितेश रावलले एकलौटी रुपमा बल मिच्याई गरी विजेता घोषणा गरिएपछि शिल्ड बहिस्कार गरिएको बताएका थिए ।
‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधिन २०८०÷०८ ÷११ को परिच्छेद १ नियम ९ प्रतियोगिता सञ्चालन प्रक्रियाको उपनियम ५ र ११ विपरीत रहेको छ । पाचौं संसोधन २०८०÷०८÷११ विपरीत घोषणा छ’ उनले भनेका थिए, ‘नगर खेलकुद समितिले जानकारी गराईदिन अनुरोध गर्दै विद्यालयहरुले सामूहिक निवेदन दिँदा समेत भीमदत्त नगर खेलकुद समितिले विद्यालयहरुलाई कुनै जवाफ नै नदिई उपनियम ११ विपरीत विजयी घोषणा गरिएकाले शिल्ड लिएका छैनौ ।’

