विरेन्द्र बाग: कन्चनपुर,२४वैशाख – सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित महेन्द्रनगरमा तीन दिने ‘सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा वैशाख २६ देखि सुरु हुने महोत्सवले सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ सम्भावना खोल्ने विश्वास लिइएको छ।
बुधबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राजेन्द्र केसीले भारतबाट ५० जना पर्यटन व्यवसायी र विज्ञहरूको टोली महोत्सवमा सहभागी हुने जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाल–भारत पर्यटन सम्वाद, गन्तव्य प्रवर्द्धन कार्यक्रम, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू समावेश रहनेछन्।
“यो महोत्सव सुदूरपश्चिमका सम्पदालाई संसार सामु चिनाउने प्रयास हो,” संयोजक केसीले भने, “सीमापार सहकार्यले हाम्रो पर्यटन क्षेत्रलाई अझ मजबुत बनाउनेछ।”
महोत्सवको उद्घाटन वैशाख २६ गते बिहान ११ बजे पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम तय भएको छ भने उद्घाटन समारोहको अध्यक्षता भीमदत्त नगर प्रमुख पदम बोगटीले गर्नेछन्।
कार्यक्रम सञ्चालनका लागि भीमदत्त नगरपालिकाबाट ५ लाख र नेपाल पर्यटन बोर्डबाट २५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। महोत्सव व्यवस्थित बनाउन विभिन्न समिति र उपसमिति गठन भइसकेको छ।

