
विरेन्द्र बाग : वैशाख १, कञ्चनपुर नयाँ वर्ष २०८३ को अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा असहाय तथा विपन्न बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले दानपेटी स्थापना गरिएको छ।
मंगलबार अस्पताल परिसरमा राखिएको उक्त दानपेटीमार्फत स्वस्फूर्त रूपमा संकलित रकम असहाय बिरामीको उपचारमा खर्च गरिने अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेशप्रसाद पन्तले जानकारी दिनु भयो।
उनका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो।
“पैसाको अभावमा कोही पनि बिरामी उपचार नपाई फर्किनु हुँदैन,” अध्यक्ष पन्तले भने, “हामीसँग सीमित स्रोत भएकाले आपतकालीन अवस्थामा दानपेटीबाट संकलित रकमले विपन्न बिरामीलाई सहयोग गर्नेछ।”
अस्पतालले दीर्घकालीन रूपमा ‘परोपकारी कोष’ स्थापना गर्ने तयारी समेत गरेको छ। छुट्टै बैंक खाता सञ्चालन गरी देश–विदेशबाट सहयोग संकलन गर्दै कोषलाई संस्थागत र दिगो बनाउने योजना अघि सारिएको छ।
पन्तको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भएपछि अस्पताल सेवामा सुधार ल्याउने विभिन्न पहलहरू तीव्र बनाइएको छ। बिरामीमैत्री सेवा, पारदर्शिता र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिइएको अध्यक्ष पन्तले जानकारी दिनुभयो।

