![]()
कञ्चनपुर, असार १३। बेदकोट नगरपालिका–४ बगुनमा शनिबार सञ्चालन गरिएको सक्रिय क्षयरोग खोजपड्ताल शिविरबाट २३६ जनाले स्वास्थ्य सेवा लिएका छन्। समुदायस्तरमै क्षयरोगका सम्भावित बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
बेदकोट नगरपालिका–४ वडा कार्यालयको समन्वय, बेदकोट नगरपालिकाको आयोजना तथा महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरको प्राविधिक सहयोगमा बगुन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बिहान ९:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमा सहभागीहरूको डिजिटल एक्स–रेमार्फत क्षयरोगको प्रारम्भिक परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
शिविरमा विभिन्न उमेर समूहका स्थानीय बासिन्दाले उत्साहजनक रूपमा सहभागिता जनाएको जनाइएको छ। क्षयरोगको लक्षण देखिए पनि अस्पतालसम्म पुग्न नसकेका वा परीक्षण नगराएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। शिविरमा शंकास्पद देखिएका व्यक्तिहरूको थप परीक्षण र आवश्यक उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिने व्यवस्था समेत गरिएको छ।
वडा सदस्य अमर बोहराका अनुसार एकै दिनमा २३६ जनाले शिविरबाट सेवा लिएका छन्। समुदायमै पुगेर सञ्चालन गरिएका यस्ता स्वास्थ्य शिविरले क्षयरोगको समयमै पहिचान गर्न, संक्रमणको जोखिम घटाउन तथा नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
स्थानीय जनप्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताएका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।



